नेकपाका डेढदर्जन सक्रिय कार्यकर्ता पार्टी परित्याग गरि नेपाली काँग्रेसमा प्रवेश: कम्युनिष्टहरूका उधारा सपनाले कार्यकर्तालाई वितृष्णा जगाएको काँग्रेस नेता जोशीको टिप्पणी

1293

पर्वत/कुश्मा नगरपालिका-९ पर्वतका डेढदर्जन कार्यकर्ता नेकपा परित्याग गरि नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । नेकपाका सक्रिय कार्यकर्ता केशव पौडेल, राजेन्द्र निधि पौडेल, रामबहादुर नेपाली, सरोज नेपाली, विष्णु नेपाली, असिम पौडेल, उदय पौडेल, उमेशनिधि पौडेल, उपदेशनिधि पौडेल, जमुना तिवारी पौडेल, अर्जुन विक, सलिना विक, दुर्गा कुमारी विक, देउरूपा विक, शर्मिला विक रमेश तिवारी लगायतका दर्जनौं व्यक्तिहरू परिवारसहित आइतबार कटुवाचौपारीमा आयोजित एक कार्यक्रमका बीच नेपाली काँग्रेस प्रवेश गरेका हुन् ।

नवप्रवेशीहरूलाई पार्टीको सदस्यता प्रदान गर्दै नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा संविधानसभा सदस्य अर्जुनप्रसाद जोशीले नेकपालाई भोट हालेकोमा पश्चाताप गर्दै नेपाली काँग्रेसमा प्रवेश गर्ने लहरले काँग्रेसप्रति जनताको विश्वास बढेको वताउनु भएको थियो । नेता जोशीले निर्वाचनपूर्व देखाएका भ्रामक सपना र गरेका उधारा बाचाको विरूद्धमा कार्यकर्तामा वितृष्णा जागेको वताउँदै कम्युनिष्ट पार्टीमा निराश भएर काँग्रेसको प्रतीक्षामा बसेका सबैलाई सम्मानपूर्वक पार्टीमा प्रवेश गराउने अभियान सञ्चालन गर्ने वताउनु भएको छ । केन्द्रीय सदस्य जोशीले दुई तिहाइको सर्वशक्तिशाली नेकपा सरकारले जनतालाई लोकतन्त्रको अनुभूति दिनेभन्दा पनि जनताको प्रति निर्मम भएर कोरोनाको महामारीमा पनि मास्क र सेनिटाईजरमा कमिशन खान उद्दत रहेको दाबी गर्नुभयो ।

काँग्रेस नेता जोशीले कम्युनिष्टहरूको ज्यादती र संस्थागत अपराधलाई सहन नसकेर २७ बर्षदेखि निरन्तर नेकपामा सक्रिय रहेर काम गरेका व्यक्तिहरूले पार्टी छोड्ने परिस्थिति बन्दै गएको वताउनु भयो । उहाँले नेकपा परित्याग गरि नेपाली काँग्रेस प्रवेश गर्नुभएका सबै व्यक्तिलाई स-सम्मान पार्टीमा जिम्मेवारी दिने जानकारी दिनुभयो । जुन प्रतिबद्धता र संकल्प बोकेर नेकपा परित्याग गरि तपाईंहरु नेपाली कांग्रेसमा प्रवेश गर्नुभएको छ, तपाईंको क्षमता र क्रियाशीलताका आधारमा पार्टीको जिम्मेवारी पाउनुहुनेछ ।’- जोशीले भन्नुभयो ।

केन्द्रीय सदस्य जोशीले मुलुकमा जनताको सर्वोच्चतासहितको विकास र समृद्धि नै नेपाली काँग्रेसको संकल्प भएको दावी गर्दै काँग्रेसले अठोट गरेको राष्ट्र निर्माणको अभियानमा एकवद्ध भएर लाग्न सबै जिल्लाबासीहरुलाई अपिल गर्नुभएको छ ।

कार्यक्रममा नेपाली काँग्रेस पर्वतका सभापति खिमप्रसाद भुसालले नेपाली काँग्रेसको आस्था र विचारलाई पछ्याएर नेकपा परित्याग गरि विनाशर्त नेपाली काँग्रेसमा प्रवेश गर्न आउनुभएका सबै व्यक्तिहरूलाई स्वागत गर्नुभएको थियो । सभापति भुसालले नवप्रवेशीहरूलाई पनि पूर्ण सम्मानका साथ पार्टीको जिम्मेवारी दिने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा नेपाली काँग्रेस पर्वतका कोषाध्यक्ष एवं जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण)ले राजनीतिक भविष्य खोजेर नेपाली काँग्रेसमा प्रवेश गर्ने सबैलाई पश्चाताप हुन नदिने र सगौरब संगठन निर्माणमा लाग्ने वातावरण निर्माण गर्ने प्रतिबद्धता जनाउनु भएको थियो ।
सोही कार्यक्रममा नेपाली काँग्रेस पर्वतका महासमिति सदस्य एवं नेपाली काँग्रेस संगठन विभागका केन्द्रीय सदस्य गंगाधर तिवारी, नेपाली काँग्रेसका जिल्ला सदस्य एवं नेपाली काँग्रेस यातायात व्यवस्था विभागका केन्द्रीय सदस्य शिवप्रसाद सुवेदी, नेपाली काँग्रेसका जिल्ला सदस्य डाक्टर चुडामणि शर्मा, नेपाल निजामती कर्मचारी युनियन संघका केन्द्रीय उपाध्यक्ष तथा गण्डकी प्रदेशका संयोजक शिब शर्मा अधिकारी, कुश्मा नगरपालिका वडा नं ९ का वडाअध्यक्ष कृष्णप्रसाद लामिछाने, नेपाल महिला संघ पर्वतका कार्यवाहक अध्यक्ष मुना शर्मा लामिछाने, नेपाली कांग्रेस कुश्मा नगर कार्यसमितिका नगरसचिव कमल पौडेल र नवप्रवेशी केशव पौडेललगायतले बोल्नुभएको थियो ।

यसैगरि पार्टी प्रवेशपछि आ-आफ्नो प्रतिक्रिया दिँदै नवप्रवेशीहरूले चुनावअघि रेल, रोजगारी, पानीजहाज चलाउने, घरघरमा पाइपबाट ग्याँस पुर्याउने जस्ता सस्ता नारा दिएर सत्तामा पुगेको नेकपाको सरकारले पूर्व प्रतिबद्धता अनुसार काम गर्न नसकेको भन्दै नेकपाका कार्यकर्तामा चरम निराशा छाएको गुनासो गरेका थिए । नवप्रवेशीहरूले नेकपा कम्युनिष्ट आन्दोलनकै कलंक भएको आरोप लगाएका थिए । उनीहरूले वर्तमान सरकारले जनतालाई न्याय दिनुको सट्टा देशमा अपराध र भष्ट्राचारलाई संस्थागत गरेको, आन्तरिक झगडामा अल्मलिएको र सत्तामा स्वेच्छाचारिता बढाएको आरोप लगाएका थिए ।

कुश्मा नगरपालिकाका वडा नं ९ का सभापति पिताम्बर अधिकारीको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रमको संचालन नेविसंघका नेता राजीव लामिछानेले गर्नुभएको थियो भने कार्यक्रममा स्वागत मन्तव्य खडानन्द पौडेलले गर्नुभएको थियो ।