पर्वत/नेपाली काँग्रेसका युवा नेता एवं जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल रामकृष्णले दाताको सहयोगमा उपलब्ध खाद्यान्न शुक्रबार पनि जलजला- ५, लेकफाँटका तीनसय १० परिवारलाई वितरण गर्नुभएको छ । कोरोनाको उच्च जोखिमसँगै लामोसमय मुलुकमा भएको लकडाउनका कारण विपन्न र श्रमिक वर्गलाई रोजीरोटीमा समस्या भएको भन्दै हिमालयन बालकल्याण मञ्चको सहयोगमा उपलब्ध भएको उक्त राहत खाद्यान्न अध्यक्ष मल्लले शुक्रबार लेकफाँट पुगेर कमजोर र विपन्न परिवारलाई सो खाद्यान्न वितरण गर्नुभएको हो । वितरण भएको राहत खाद्यान्न अन्तर्गत प्रति परिवारलाई ४० केजी चामल, चार केजी दाल, तीन लिटर तेल र दुई केजी नून रहेको अध्यक्ष मल्लले जानकारी दिनुभयो ।
राहत वितरण कार्यक्रममा बोल्दै अध्यक्ष मल्लले कोरोनाको महामारीबाट आक्रान्त भएका र लकडाउनको कारण श्रम गर्नबाट समेत बञ्चित भएका दलित तथा विपन्न वर्गको समस्यालाई मध्यनजर गर्दै आफूले दाता संस्थासँग गुहारेर उक्त राहत सामग्री जुटाएको वताउनु भयो । अध्यक्ष मल्लले गाउँपालिकाभित्रका अति निम्न गरीब, दलित र कमजोर आय भएका समुदायलाई हेरेर यो कार्यक्रम बनाइएको वताउँदै आउँदा दिनमा अन्य वार्डमा समेत यस्तो कार्यक्रम संचालन गर्न पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले हालसम्म १२ सय ८० परिवारलाई राहत सामग्री वितरण गरिसकिएको समेत जानकारी दिनुभयो ।
राहत वितरण कार्यक्रममा जलजला गाउँपालिकाको वातावरण तथा विपत व्यवस्थापन समितिका संयोजक तथा वडा नं -४ का वडा अध्यक्ष भीष्म मल्ल, नेपाली काँग्रेसका जलजलाका संयोजक चन्द्रबहादुर जिसीलगायतले बोल्नुभएको जलजला गाउँपालिकाका राजनीतिक सल्लाहकार एवं काँग्रेसका युवा नेता यम शर्मा पौडेलले जानकारी दिनुभयो । जलजला गाउँपालिकाका वडा नं २, ४, ५ र ७ नम्बर वडाका आठसय विपन्न परिवारलाई लक्षित गरि ३० लाख रुपैयाँको खाद्यान्न वितरण गर्न लागिएको हो ।