कालीगण्डकी जलाशययुक्त आयोजनाका लागि झण्डै सातकरोड विनियोजन

पर्वत/जिल्लाको सवैभन्दा ठूलो जलासयुक्त परियोजना कालीगण्डकी जलासययुक्त परियोजनाका लागि संघीय सरकारबाट ६ सय ९२ लाख रकम विनियोजन भएको छ । आगामी बर्षको लागि संघीय सरकारले ६ करोड ९२ लाख रकम विनियोजन गरेको हो । उक्त रकमबाट म्याग्दी समेत जलासयुक्त आयोजनाका लागि अध्ययन हुने भएको छ । जिल्लाको फलेवास नगरपालिका, विहादी गाउँपालिका र जैमुनी नगरपालिकामा निर्माणको प्रस्ताव गरिएको उक्त आयोजनाको प्रभावित क्षेत्र कुश्मा नगरपालिका समेत हुनेछ । यस अघि प्रस्तावका रुपमा रहेको उक्त परियोजनालाई औपचारिक रुपमा फलेवास नगरपािलकाले अघि बढाएको थियो । नगरपालिकाले पर्वत, बागलुङ, र गुल्मीका स्थानीय पालिकाहरुको भेला समेत गरी परियोजना अघि बढाउन नगरप्रमुख पदमपाणी शर्माले दबाद सृजना गरेका थिए ।

आयोजनाका लागि राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सीना, प्रदेश सरकारका मन्त्री विकास लम्साल र सांसद पदम गिरी लगायतले पहल गरेका थिए । गत बर्ष संघीय सरकारले आफ्नो नीति तथा कार्यक्रम र बजेटमा समेत यो परियोजनाको नाम नै उल्लेख गरेर आयोजनालाई अघि बढाएको थियो । सोहि बमोजीम चालु आर्थिक बर्षमा आयोजनाको प्रारम्भिक सर्भेक्षण सम्पन्न भएको छ । प्रारम्भिक सर्भेक्षणबाट ८ सय ४४ मेघावाट क्षमताको जलविद्युत निकाल्न सकिने विज्ञहरुले निचोड निकालेका थिए ।
संघीय सरकारको सिंचाई तथा जलश्रोत मन्त्रालयले चालु बर्षमा गरेको प्रारम्भिक सर्भेक्षण पछि परियोजनाको डिपिआर तयार गर्नका लागि ग्लोबल टेण्डर समेतको आब्हान भइसकेको छ । ग्लोबल टेण्डर आब्हानबाट डिपिआर निर्माण गर्ने कम्पनीको समेत १ महिना अघि छनौट भएको फलेवास नगरपालिकाका प्रमुख पदमपाणी शर्माले जानकारी दिए ।

डिपिआर निर्माणका लागि अस्ट्रेलियाको एमएमइसि एण्ड जाडी कन्सल्ट जेपि कम्पनीले जिम्मेवारी पाएका छन् । एक महिना अघि मात्रै डिपिआर निर्माणको सम्झौता सरकारले गरीसकेको छ । उक्त कम्पनीले आगामी बर्षमा वृहत लागत स्टिमेट तयार पारेर सरकारलाई हस्तान्तरण गर्नेछ ।
‘फलेवास सम्बृद्धिको हाम्रो सपना विस्तारै पुरा हुँदैछ’ फलेवास नगरप्रमुख शर्मा भन्छन–‘यो वृहत योजना हो, सिंचाई, जलविद्युत र पर्यटनसंग जोड्ने गरी हामीले प्रस्ताव गरेका हौं ।’

शर्माले उक्त परियोजनाबाट १ हजार मेघावाट विद्युत निकाल्न सकिन्छ भनेर हामीले प्रयास गरेका थियौ । यसले राष्ट्रको कुल विद्युत उत्पादनमा निकै ठूलो योगदान पुराउनसक्ने शर्माले बताए । आयोजना सम्पन्न हुँदा जलासय भएका कारण बोटिङ देखि मच्छपालन ब्यवसाय समेतको शुरुवात गर्न सकिनेछ । यसैगरी आयोजनाले सिंचाईको आवश्यकता समेतको परिपूर्ति गर्नेछ ।