कोरोनाको कहरमा लकडाउनको उल्लङ्घन गर्दै सांसद पदम गिरीलाई शिलान्यासको चटारो

पर्वत/कोरोना महामारीका कारण देश ७६ दिनदेखि लकडाउनमा छ। जसले गर्दा जनता सहजै घरबाहिर निस्कन पाएका छैनन् भने देशको अर्थतन्त्र ठप्पप्राय छ। बिदेशमा लाखौं नेपाली अलपत्र छन्। भारतबाट हिँड्दै भोकै प्यासै जनता आफ्नो देश आइरहेका छन्। कयौं समस्या भोग्न बाध्य छन्। अत्यावश्यक बाहेक सबै सवारी साधन तथा सेवा बन्द छन्।

तर, पर्वत जिल्लाबाट प्रतिनिधिसभामा निर्वाचित सांसद पदम गिरी भने बजेट माथि सदनमा छलफल चलिरहेका बेला पर्वतको बिहादी गाउँपालिका पुगेर एकैदिन चारवटा लिफ्ट खानेपानी योजनाको शिलन्यास गरेका छन्।

संघीय संसदले अधिवेशन जारी रहँदासम्म सांसदहरुलाई उपत्यका नछोड्न आग्रह गरिरहेको र सम्बन्धित दलले समेत उपत्यका नछाड्न ह्विप जारी गरेको अवस्थामा नेकपाकै सांसदबाट यस्तो लापरबाही भएको पाइएको हो।

उनी गोप्य रुपमा जिल्लाको दक्षिणमा पुगेर आइतबार स्थानीय जनप्रतिनिधि र कार्यकर्ता जम्मा पार्दै खानेपानी योजनाहरुको शिलन्यास गरेका हुन्।

सदनमा बजेट माथि मन्त्रालयगत छलफल जारी रहेको र उनकै पार्टी नेतृत्वको सरकारले लकडाउनलाई पालना गर्न जनतलाई भनिरहेका बेला आफ्नै सांसदको यो लापरबाहीलाई कसरी हेरेको होला?

लगडाउन बारे ‘सानालाई ऐन ठूलालाई चैन’ भन्दै सर्वसाधरणबाट बिरोध भइरहेका बेला सांसदले पदको दुरुपयोग गर्दै गरेको यो लापरबाही लज्जास्पद भएको स्थानीय एक नेताले बताए।

‘अहिलेको अवस्थामा भोकै रहेका जनता र कोरोना संक्रमण भएका जनताको सेवामा जुट्नुपर्ने हो,’ पर्वतका एक स्थानीय नेकपा नेताले भने, ‘सांसदले जनप्रतिनिधि र कार्यकर्तालाई जम्मा गरेर यस्तो बेलामा खानेपानी योजनाको शिलन्यास गर्नुपर्ने के बाध्यता आइपरेको होला? हामी अचम्मित र छक्क छौं।’

लकडाउनमा धेरै मानिस एक ठाउँमा जम्मा हुन नपाउने सरकारले निरन्तर भनिरहेकै छ। यद्यपी जेठ १५ मा सरकारको वार्षिक बजेट ल्याउनुपर्ने संबैधानिक बाध्यताका कारण संघीय संसदको बर्खे अधिवेशन चलिरहेको छ।

यस्तो प्रतिकुल समयमा पनि स्वास्थ्य सम्बन्धी विभिन्न मापदण्ड र सावधानीका उपाय अपनाएर सदन चलिरहेको हो। संघीय संसदको आग्रहमा सरकारले सांसद, कर्मचारी र मर्यादापालक गरी करिब ५०० जनाको कोरोना पिसिआर टेस्ट समेत गराएको थियो।

त्यसपछि सामाजिक दूरी कायम गरी तथा स्वास्थ्य सावधानी अपनाएर बैठक बस्ने प्रबन्ध गरिएको छ।र, अझै पनि देशमा कोरोनाको महामारी बढिरहेकोले जोखिम भने कामय छ।

अझ अचम्म त के छ भने उनले शिलन्यास गरेका केही योजनामा आव २०७७/७८ का लागि बजेट बिनियोजन भएको हो।

जुन बजेट संसदबाट पारित भइसकेको छैन। संसद चलिरहेकै अवस्थामा सांसद र आफ्नो दलले ह्विप जारी गर्दागर्दै खानेपानी योजना उद्घाटन गर्न हिँड्ने सांसदलाई पार्टीले स्पष्टिकरण सोध्ला कि नसोध्ला?

देश विदेशमा लाखौं नागरिक अलपत्र छन्। विदेशमा अलपत्र नागरिकलाई कसरी स्वदेश फर्काउने भन्ने मोडालिटी बनाउन नसक्दा अन्योलमा छ। यो अवस्थामा सत्तारुढ सांसदकै यो लापरबाहीले पर्वतबासीलाई निरुत्साहित बनाएको छ ।