नुवाकोट/नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं संघीय सांसद बहादुरसिंह लामा तामाङले नुवाकोटका ११ स्थानीय तहलाई स्वास्थ्य सामग्री हस्तान्तरण गर्नुभएको छ । सांसद लामाले शनिबार जिल्ला समन्वय समितिको कार्यालय बिदुरबाट उक्त सामग्री हस्तान्तरण गर्नुभएको हो ।
कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि स्थानीय तहका फिल्डमा खटिरहेका स्वास्थ्यकर्मीहरुका लागि १ सय ५५ सेट पिपिई, ५५ थान इन्फ्रारेड थर्मल गन, १२ थान स्यानिटाइजर स्प्रे मेसिन, ८ सय थान एन ९५ मास्क, १० हजार थान सर्जिकल मास्क, ५ हजार थान कपडाको मास्क, १ सय ५ लिटर स्यानिटाइजर र १ थान बिग स्प्रे मेसिन वितरण गर्नुभएको हो ।
जिल्लाका सबै स्थानीय तहका प्रमुखहरुलाई ५/५ सेट पिपिई, २/२ थान थर्मल गन, १/१ थान स्यानिटाइजर स्प्रे मेसिन, ५/५ लिटर ह्यान्ड स्यानिटाइजर, ५/५ लिटर क्लोरिनयुक्त स्प्रे स्यानिटाइजर, २०/२० थान एन ९५ मास्क, ३/३ सय थान सर्जिकल मास्क र २/२ थान कपडाको मास्क हस्तान्तरण गर्नुभएको थियो ।
जिल्ला प्रहरी कार्यालय नुवाकोटका लागि एक थान बिग स्प्रे मेसिन पनि हस्तान्तरण गरिएको छ । यस्तै, सांसद लामाले स्थानीय तहका नेपाली कांग्रेस पार्टीका प्रतिनिधिहरुलाई पनि पिपिई, थर्मल गन, एन ९५ मास्क, सर्जिकल तथा क्लोथ मास्क, स्यानिटाइजर, साबुन लगायत सामग्रीहरु हस्तान्तरण गर्नुभएको थियो ।
सो कार्यक्रममा विपद् तथा महामारीको बेला सबै पक्षको सक्रिय भूमिका आवश्यक रहेको सांसद तामाङले औल्याए । उनले जिल्लामा कोरोनासँग लड्न फ्रन्टलाइनमा काम गरेकालाई स्वास्थ्य सामग्री प्रदान गरेको बताउनु भएको थियो ।
यस अघि नै लिखु गाउँपालिकालाई थर्मल गन, स्प्रे मेसिन र एन ९५ मास्क तथा बेलकोटगढी नगरपालिकालाई पिपिई र स्यानिटाइजर प्रदान गरिसकिएको उहाँले जानकारी दिनुभयो ।






