पर्वत/नेपाल ट्रेड युनियन काँग्रेस नुवाकोट र नेपाल प्रेस युनियन नुवाकोटले नुवाकोटमा क्रियाशील पत्रकारलाई प्रेस ज्याकेट वितरण गरेको छ । नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य एवं संघिय सांसद बहादुरसिंह लामाको सहयोगमा प्राप्त ज्याकेट पत्रकारहरुलाई हस्तान्तरण गरिएको हो । नेपाल पत्रकार महासंघ जिल्ला शाखा नुवाकोटका अध्यक्ष कपिलदेव खनाललाई ट्रेड युनियन काँग्रेसका अध्यक्ष शिव देवकोटाले ति सामाग्रीहरु हस्तान्तरण गर्नुभएको थियो । नेपाल पत्रकार महासंघ नुवाकोटका अध्यक्ष कपिलदेव खनालले अहिलेको अवस्थामा सक्रिय पत्रकारहरु स्वास्थ्यका हिसावले असुरक्षित रहेकोले विशेष ख्याल गर्नु आवश्यक रहेको बताउनुभएको छ ।
उहाँले ज्याकेटले पत्रकाहरुको पहिचानमा सहज हुने र कार्यसम्पादनमा तिब्रता आउने बताउनुभएको छ । ट्रेड युनियन नुवाकोटका अध्यक्ष देवकोटाले लकडाउनको बेलामा पनि पत्रकारहरु अग्रभागमा आएर समाचार संकलन तथा फोटो खिच्नु पर्ने भएकाले धेरै पत्रकार जोखिम मोलेर कार्यक्षेत्रमा खटिएको बताउनुभएको छ । उहाँले राष्ट्रिय सञ्चार माध्याममा नुवाकोटमा कोरोनाको प्रभाव र समाचारहरु कमै मात्र पुगेकोले जिल्लाका पत्रकार त्यस तर्फ चनाखो हुनुपर्ने बताउनुभएको छ । कार्यक्रममा प्रेश युनियन नुवाकोटका अध्यक्ष नमराज सुवेदी, निवर्तमान अध्यक्ष किरण अधिकारी, पुर्वअध्यक्ष श्रीराम नेपाल, सचिव रविन दाहाललगायतको सहभागिता रहेको थियो ।
काँग्रेस नेता लामाले यसअघि पनि आफ्नो पारिश्रमिकबाट विभिन्न विद्यालयका छात्र छात्रालाई न्यानो कपडा लगायत शैक्षिक सामग्री समेत वितरण गर्दै आउनुभएको छ ।






