२१ भदौ, पोखरा । केपी ओलीले नेतृत्व गरिरहेको दुर्इतिहाइ बहुमतको सरकारले प्रभावकारी काम गर्न नसकेको जनगुनासो बढिरहेकै बेला केन्द्र र प्रदेश सरकारका वीचमा अन्तरविरोध देखापरेको छ ।
बिहीबार पोखरामा भेला भएका विभिन्न प्रदेशका मुख्यमन्त्रीहरुले सिंहदरबारले अधिकार नदिएको भन्दै केन्द्र सरकारको कडा आलोचना गरे । ५ वटा प्रदेशका मुख्यमन्त्रीहरु सिंहदरबारविरुद्ध आक्रामक रुपमा प्रस्तुत भए ।
प्रधानमन्त्री ओलीकै निकट मानिएका मुख्यमन्त्रीसमेत केन्द्र सरकारमाथि खनिए । प्रदेश नं ५ का मुख्यमन्त्री केही नरम देखिए भने कर्णाली प्रदेशका मुख्यमन्त्रीचाहिँ स्वास्थ्यको कारण जनाउँदै पोखरा भेलामा आएनन् ।
अन्तरप्रदेश परिषदको बैठकको पूर्वसन्ध्यामा भएको भेलामा देशका ६ वटा प्रदेशका मुख्यमन्त्रीले भाग लिएका हुन् । मुख्यमन्त्रीहरुले देश संघीयतामा गए पनि केन्द्रीकृत चरित्र र मानसिकता परिवर्तन नभएको बताए ।
सबै प्रदेशका मुख्यमन्त्रीको समस्या उस्तै छ । उनीहरुका माग पनि एउटै छ, ‘कर्मचारी देउ, संरचना देऊ, प्रदेश प्रहरी, लोकसेवा आयोग, वित्त बाँडफाँट लगायत कानुन बनाइदेऊ । गुनासो पनि एउटै छ- ‘प्रदेशलाई अधिकार दिन संघीय सरकारले कन्जुस्याइँ गर्दा बजेट कार्यान्वयनमै समस्या पर्यो ।’
अधिकांश मुख्यमन्त्रीले संघीय सरकारले अधिकार नदिएको गुनासो गरेका छन् । तर, प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले भने केन्द्र सरकारको बचाउ गर्दै अधिकार पाए नपाएको विषयमा प्रवेश नै गर्ने बेला नभएको बताएर अाफूलार्इ अलि फरक रूपमा प्रस्तुत गरेका छन् ।






