लेवी नतिर्ने नेता कार्यकर्ताको क्रियाशील सदस्यता नविकरण नगर्ने नेपाली काँग्रेस पर्वतको निर्णय

पर्वत/नेपाली काँग्रेस पर्वतले निर्माणाधिन वीपी स्मृति भवनको लागि प्रत्येक क्रियाशील सदस्यबाट एकसय रूपैयाँ संकलन गर्ने निर्णय गरेको छ । नेपाली काँग्रेस जिल्ला कार्यसमिति पर्वतको बिहीवार सम्पन्न वैठकले यस्तो निर्णय गरेको हो । पार्टी सभापति खिमप्रसाद भुसालको सभापतित्वमा भएको बैठकले लेबी भुक्तानी गरेकालाई मात्रै क्रियाशिल सदस्यता वितरण गर्ने, नयाँ सदस्यता वितरण गर्ने निर्णय गरेको छ भने यो बीचमा दिवंगत हुने काँग्रेस निकट व्यक्तिहरूप्रति शोक प्रस्ताव पारित गरेको छ । बैठकले नेपाली काँग्रेसको केन्द्रिय कार्यसमितिको परिपत्र अनुसार १४ औँ महाधिबेशनलाई लक्षित गर्दै क्रियाशिल सदस्यता वितरण गर्ने निर्णय गरेको पार्टी सचिव अशोक उच्चै ठकुरीले जानकारी दिनुभयो ।

बैठकले क्रियाशिल सदस्यता १५ दिनभित्र पार्टी कार्यालयमा बुझाउन प्रत्येक वडा कार्य समितिलाई निर्देशन दिएको छ । यस्तै विश्वव्यापी प्रभाव पारिरहेको कोरोना भाईरसको वारेमा गाउँ देखि वडातहसम्म सचेतना फैलाउने निर्णय गरेको नेपाली काँग्रेसका कोषाध्यक्ष यामबहादुर मल्ल रामकृष्णले जानकारी दिनुभयो । कोषाध्यक्ष मल्लका अनुसार पार्टी पंक्तिलाई जनताको घरदैलोमा पुगेर सचेतना फैलाउन बैठकले निर्देशन दिएको छ । पार्टीले पछिल्लो एक महिनाको अवधिमा निधन भएका पार्टिका विभिन्न तह र तप्कामा रहेका व्यक्तित्वलाई श्रद्दाञ्जली व्यक्त गर्दै शोकप्रस्ताव पारित गरेको छ ।

आमन्त्रित जिल्ला सदस्य जीतबहादुर नेपालीकी आमा सुनिता नेपाली, निजामती कर्मचारी यूनियन संघका सदस्य तथा पूर्व गाविस सचिव होमबहादुर भण्डारी , विहादीका क्रियाशिल सदस्य डोलप्रसाद भुसाल, विहादीका क्रियाशिल सदस्य रमेशचन्द्र भट्टराई, कुश्मा ५ का क्रियाशिल सदस्य हरिप्रसाद शर्मा, फलेवास ३ का क्रियाशिल सदस्य लक्ष्मीप्रसाद तिवारी, पैयुँ गाउँपालिका ४ का प्रजातान्त्रिक सेनानी गुप्तप्रताप सेन, जलजला मल्लाजका धनवहादुर जिसी, महाशिला ५ का बेलकुमारी उचै ठकुरी, जलजला शालिजाका केशव चोचाङगी, कुश्मा नगरपालिका २ का थानेश्वर शर्मा प्रति पार्टिले श्रद्धाञ्जली अर्पण गरेको छ ।

कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका केन्द्रिय सदस्य अर्जुनप्रसाद जोशीले नेपाली काँग्रेसलाई बलियो बनाउन र कार्यकर्तालाई भावनात्मक रुपमा एकीकरण गर्न सबै नेताको समान दायित्व रहेको उल्लेख गर्नुभयो । आगामी महाधिबेशनको तयारीमा रहेको बताउँदै जोशीले चौधौ महाधिबेशनले पार्टिलाई थप मजवुत र क्रियाशिल बनाउने विश्वास व्यक्त गर्नुभयो । उहाँले पार्टीभित्रका तितामिठा सबै कुरा बिर्सिर संगठन बलियो बनाउने कुरामा केन्द्रित हुन सबैलाई जोशीले निर्देशन दिनुभयो ।

कार्यक्रममा नेपाली काँग्रेसका पर्वतका पूर्व सभापती नवराज गुरुङले पार्टिभित्र रहेको गुटउपगुट जिल्लाको राजनीतिमा देखिन नहुने बताउनुभयो । पर्वतमा काँग्रेसहरु एकजुट भएमा कसैले पराजित गर्न नसक्ने भएकाले आफुहरु एक भएर केन्द्रलाई एक हुन दवाव दिनुपर्ने गुरुङले बताउनुभएको छ ।