पर्वत/ कुश्मा नगरपालिका भित्रका विद्यालयहरूमा संचालन भएको परीक्षाको नगर शिक्षा अधिकृत राजेन्द्रबहादुर क्षेत्रीको नेतृत्वमा शनिबार अनुगमन गरिएको छ । टोलीले कुश्मा नगरपालिका वडा नं १ पाङ्को नुवार सुवेदी थर मावि र वडा नं २ खुर्कोटस्थित हिमालय माविमा संचालित परीक्षाको अनुगमन गरेको हो ।
अनुगमनका क्रममा नगर शिक्षा अधिकृत राजेन्द्रबहादुर क्षेत्रीले विद्यालयमा परीक्षा संचालन प्रक्रिया नगर शिक्षा शाखाकै नीति निर्देशन अनुसार भएको जानकारी दिनुभयो । ‘प्रश्नपत्र तयार गर्नेदेखि परीक्षा संचालन प्रक्रिया हामीले नयाँ तरिकाले गर्ने कार्ययोजना बनाएका थियौं, विद्यालयले शिक्षा शाखाको योजनालाई फलोअप गरेको पाइयो ।’- नगर शिक्षा अधिकृत क्षेत्रीले भन्नुभयो । उहाँले सामुदायिक विद्यालयमा शैक्षिक गुणस्तर सुधार गर्दै अन्तर्राष्ट्रिय शैक्षिक बजारमा प्रतिस्पर्धा गर्न सक्ने शिक्षाको विकासका लागि आफूहरुले शिक्षामा नविन शैली अवलम्बन गर्न खोजेको दाबी गर्नुभयो । क्षेत्रीले शिक्षाको सुधारका लागि राज्य नै उदार हुनुपर्ने धारणा राख्नु भएको थियो ।
अनुगमनका क्रममा परीक्षा विश्लेषण समिति गण्डकी प्रदेशका संयोजक एवं उपप्राध्यापक रेशमबहादुर सुवेदीले परीक्षा प्रणाली र शैक्षिक सुधारका विभिन्न मापदण्डमा आधारित प्रश्नपत्र तयार गरि विद्यालयको शैक्षणिक अवस्थाको मूल्यांकन गर्नुभएको थियो । सुवेदीले अवको शिक्षा मानव विकास र मानव समृद्धिसँग जोड्ने खालको हुनुपर्ने भन्दै शिक्षा भित्रको समस्या पहिचान गरि समाधान खोज्न प्रदेशले आफ्नो नेतृत्वमा समिति निर्माण गरेको जानकारी दिनुभयो ।
कुश्मा नगरपालिका नगर शिक्षा शाखाकै अर्का अधिकृत दीपक सुवेदीले राज्यको उदासिनताका कारण शिक्षामा सुधार हुन नसकेको वताउनु भयो । अनुगमनका क्रममा नेपाल पत्रकार महासंघ पर्वतका अध्यक्ष छविलाल तिवारी र रेडियो शालिग्राम पर्वतका स्टेशन म्यानेजर ओमप्रसाद घायल समेत सहभागी हुनुहुन्थ्यो । कोरोना भाईरसको खतराका कारण शनिवार पनि परीक्षा संचालन गरिएको छ ।






