वरूवालको निधनप्रति काँग्रेस नेता जोशीद्वारा दुख व्यक्त

पर्वत/मोदी गाउँपालिका ३ देउराली घुरुङशोरा निवासी नेपाली काँग्रेसका पुराना नेता एवं समाजसेवी गुमानसिङ बरुवालको निधनप्रति नेपाली काँग्रेसका केन्द्रिय सदस्य तथा पूर्व सांसद अर्जुनप्रसाद जोशीले गहिरो दुःख व्यक्तगर्नुभएको छ । केन्द्रिय सदस्य जोशीले मंगलबार स्वर्गीय बरुवालको घरमै पुगेर शोकाकुल परिवार तथा गाउँबासीहरुप्रति दुख व्यक्त गर्नुभएको हो । प्रजातन्त्र प्राप्तीका लागि स्वर्गीय बरुवाल दिनुभएको योगदान नेपाली काँग्रेसले मात्र नभई सबै राजनैतिक दलहरुले पनि स्मरण गर्नुपर्ने उहाँको धारणा छ । बरुवालको निधनले आफू सहित सिँगो नेपाली काँग्रेस पार्टी नै मर्माहत भएको बताउँदै केन्द्रिय सदस्य जोशीले बरुवालले नेपाली काँग्रेस पार्टी संगठनकाप्रति निष्ठापूर्वक गरेको योगदानलाई आफूले सँधै स्मरण गर्ने प्रतिबद्धता जनाउनु भएको थियो ।

श्रद्धाञ्जली दिन पुगेको टोलीमा नेपाली काँग्रेस पर्वतका सभापति खिमप्रसाद भुषालले वरूवालको निधनबाट पार्टीलाई अपुरणीय क्षति पुगेको वताउनु भएको थियो । कार्यक्रममा नेपाली काँग्रेसका जिल्ला कार्यसमिति सदस्य डा. चुडामणि शर्मा, नेपाली काँग्रेस मोदी गाउँ कार्यसमितिका सभापति जीवनाथ शर्मा, नेपाल पत्रकार महासँघ पर्वतका अध्यक्ष छविलाल तिवारी, नेपाल पत्रकार महासंघ पर्वतका पूर्व अध्यक्ष एवं रेडियो शालिग्रामका स्टेशन म्यानेजर ओमप्रसाद घायल लगायतले परिवारप्रति समवेदना व्यक्त गर्नुभएको थियो । विगत केही बर्षदेखि बिरामी रहेका बरुवालको पौष २६ गते ७५ बर्षको उमेरमा निधन भएको हो ।