बागलुङ जैमिनीका ८२ बर्षिय प्रद्युम्न आचार्य नौ दिनदेखि बेपत्ता

3859

पर्वत/जैमिनी नगरपालिका-१ बागलुङका शिक्षासेवी प्रद्युम्न आचार्य नौ दिनदेखि सम्पर्कविहीन हुनुभएको छ । लामो समय अध्यापनमा विताएका ८२ वर्षीय आचार्य पुस २४ गतेदेखि परिवारको सम्पर्कबाहिर रहेनु भएको हो । गाउँमा रहेर उनले शैक्षिक जागरण ल्याउन योगदान गर्नु भएको थियो ।

परिवारका सदस्यले दिएको जानकारी अनुसार आचार्य पेन्सन बुझ्न भन्दै जैमिनी नगरपालिकाको टार गाउँबाट सदरमुकाम बागलुङ जानुभएको थियो । पेन्सन बुझेपछि उहाँ एकदिन बागलुङ रामरेखास्थित आफन्तको घरमा बसेको तर भोलिपल्ट बिहानदेखि बेखबर रहेको आचार्यका कान्छा छोरा लक्ष्मण आचार्यले जानकारी दिनुभयो ।

‘बाबाले बागलुङमा रहँदा आफन्तसँग मुक्तिनाथ जाने कुरा पनि गर्नुभएको रहेछ। तर, विभिन्न व्यक्तिसँग बुझ्दा उता गएको जानकारी आएको छैन’, छोरा आचार्यले टेलिफोनमा भन्नुभयो ।, ‘प्रहरी, आफन्त, ईष्टमित्र सबैतिर खबर भएको छ। अहिलेसम्म कसैलाई जानकारी छैन।’ सात दिनसम्म सम्पर्कमा नआएपछि परिवार चिन्तामा छ। सामाजिक सञ्जालमार्फत खोजी कार्यमा सहयोगका लागि परिवारजनले आग्रहसमेत गरेका छन्।

झण्डै ४० वर्ष शिक्षा सेवामा बिताएका पुराना शिक्षक आचार्यले जैमिनी नगरपालिकाको कुश्मि शेरामा २०१८ सालमा स्कुल खोलेर शिक्षा र चेतनाको विकासमा योगदान पुर्‍याउनु भएको थियो । यस्तै कृषी, फलफुल एवम् तरकारी खेतीमासमेत उहाँ प्रेरणाका स्रोत मानिनुहुन्छ । शिक्षा सेवी रहेका कारण उहाँलाई सबैले त्यस क्षेत्रमा ‘प्रद्युम्न गुरु’ का रुपमा चिन्छन् । परिवारका सदस्यले कसैले भेटे वा देखेमा मोबाइल नम्बर ९८५७६२१९६५ वा ९८५१०९५०३० मा फोन गरी सहयोग गर्न आग्रह गरेका छन् ।