आफ्नो नेतृत्वको आलोचना छोडेर कम्युनिष्टको ज्यादतीविरुद्ध बोल्न कांग्रेस नेताहरुको सुझाव

पर्वत/नेपाली काँग्रेसका कन्द्रीय सदस्य अर्जुनप्रसाद जोशीले गुटगत राजनीति गरेर काँग्रेसलाई कमजोर बनाउनेहरुलाई कार्यकर्ताले निषेध नै गर्नुपर्ने बेला आएको वताउनु भएको छ । केन्द्रीय सदस्य जोशीले नेपाल तरुण दल जलजलाको गाउँपालिका स्तरीय तरुणदल गठन तथा बनभोज कार्यक्रमलाई सम्बोध गर्दै उक्त कुरा वताउनु भएको हो । काँग्रेस नेता जोशीले काँग्रेसमा नेतृत्वलाई खुईलाएर आफू चर्चामा आउने प्रवृत्ति हावी भएको भन्दै नेतृत्व असफल हुँदा काँग्रेसको भविस्य सुरक्षित हुन नसक्ने दावी गर्नुभयो । ‘केन्द्रदेखि जिल्ला र गाउँसम्म नेतृत्वलाई आलोचना गर्ने लहर चलेको छ तर यो पार्टी र संगठनको लागि सबैभन्दा बढि घातक हो ।’– जोशीले भन्नुभयो । उहाँले कम्युनिष्टहरुको ज्यादतीविरुद्ध बोल्न खुट्टा कपाँउने तर काँग्रेसभित्र पौठेजोरी खोजेर संगठनलाई ध्वस्त बनाउनेविरुद्ध एकजुट हुन सबै जिम्मेवार कार्यकर्ताहरुलाई आग्रह गर्नुभएको छ । नेता जोशीले पर्वतमा एउटा बलियो काँग्रेस बनाएर मात्रै आफू राजनीतिबाट विश्राम लिने प्रतिवद्धता गर्नुभएको थियो ।

सोही कार्यक्रममा नेपाली काँग्रेस पर्वतका पार्टी सभापति खिमप्रसाद भुसालले काँग्रेस कमजोर भएको बेला तरुणदलको भूमिका अझै बढि प्रभावकारी हुनुपर्ने वताउँदै पार्टी संगठनलाई तेजोबध गर्नुहरुलाई कडा निगरानी गर्न तरुण दललाई आग्रह गर्नुभएको थियो । सभापति भुसालले पार्टी कमजोर अवस्थामा पुगेको वेला गुटबन्दी छाडेर एकतामा सहभागी हुन सबैलाई आग्रह समेत गर्नुभयो ।

कार्यक्रममा नेपाल तरुण दलका केन्द्रीय कोषाध्यक्ष तथा नेपाली काँग्रेसका युवा नेता विद्वान गुरुङले पार्टीभित्रका वेइमान र अन्तरघातीहरुलाई तरुण दलले नजिकबाट नियालीरहेको वताउँदै अनावस्यक गुटबन्दी गरेर पार्टीलाई ध्रुवीकरण गर्न खोज्नेहरु आफै समाप्त भएर जाने दावी गर्नुभयो । युवा नेता गुरुङले नेकपाको सरकारले देशमा अपराध, भ्रष्ट्राचार, जनअधिकार र राष्ट्रियतामाथि निरन्तर अतिक्रमण गरिरहेको अवस्थामा सरकारका ज्यादतीविरुद्ध बोल्नुपर्ने काँग्रेस नेताहरु आफ्नै नेतृत्वको आलोचनामा लाग्नु दुर्भाग्य भएको वताउनु भएको थियो । उहाँले तरूण दल सँधै पार्टी नेतृत्व र संगठनको पक्षमा इमान्दार भएर अघि बढ्न सुझाव दिनुभएको थियो ।

सोही कार्यक्रममा नेपाली काँग्रेस पर्वतका कोषाध्यक्ष तथा जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण)ले पछिल्लो समय पार्टीभित्र हलो अड्काएर गोरू चुट्ने प्रवृत्ति हावी भएको वताउँदै पार्टीविधान विपरित गएर नेतृत्वलाई गाली गर्ने नेताहरुलाई अनुशासनको कार्वाही गर्नुपर्नेमा जोड दिनुभएको थियो । मल्लले जलजला गाउँपालिकामा आफूले जनताको विकास र पार्टी संगठन सुदृढीकरण अभियान संगसंगै गरिरहेको वताउँदै जिल्लाका सबै स्थानीय तहले पार्टी संगठन सुदृढीकरणमा जोड दिन सुझाव दिनुभएको थियो । उहाँले अहिलेको आवश्यकता पार्टीमा भावनात्मक एकता भएको भन्दै गुटबन्दी त्यागेर पार्टी निर्माणमा सहयोग गर्न सबैलाई आग्रह गर्नुभएको थियो ।

नेपाल तरूण दल प्रदेश क का क्षेत्रीय अध्यक्ष हरिविकाश जिसीको सभापतित्वमा भएको उक्त कार्यक्रममा नेपाली काँग्रेसका उपसभापति दुर्गाबहादुर खत्री, नेपाली कांग्रेस जलजलाका संयोजक चन्द्रबहादुर खत्री, कुश्मा नगरपालिकाका उपप्रमुख सीता काफ्ले लामिछाने, नेपाल निजामती कर्मचारी युनियन संघका केन्द्रीय उपाध्यक्ष तथा गण्डकी प्रदेशका संयोजक शिब शर्मा अधिकारी, नेपाल तरूण दल पर्वतका अध्यक्ष राज मल्ल तोरण, नेपाली कांग्रेस म्याग्दीका सहसचिव भरत रखाल, नेपाल तरूण दल म्याग्दीका अध्यक्ष मुकुन्द छन्त्याल, नेपाली काँग्रेसका क्षेत्रीय सचिव कमल अधिकारी, नेपाली कांग्रेस धाईरिङका सभापति राजु आचार्य, नेपाल महिला संघ पर्वतका सचिव मुना शर्मा लामिछाने, जलजला गाउँ पालिका वडा नं २ का वडा अध्यक्ष गोविन्द खत्री, वडा नं ३ का वडा अध्यक्ष देवेन्द्र भण्डारी र वडा नं ४ का वडा अध्यक्ष भीष्म मल्ल र नेपाल तरूण दल पर्वतका सचिव अमृत ठकुरी लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । उक्त कार्यक्रमको संचालन नेवि सघंका नेता नविन जिसीले गर्नुभएको थियो ।

सोही कार्यक्रममा नेकपा का युवा नेता खिम वरूवाल सहित तीन दर्जन नेकपाका कार्यकर्ता नेकपा परित्याग गरि नेपाली काँग्रेसमा प्रवेश गरेका थिए । नवप्रवेशीहरूलाई नेपाली काँग्रेसका केन्द्रीय सदस्य अर्जुनप्रसाद जोशी , नेपाल तरूण दलका केन्द्रीय कोषाध्यक्ष विद्वान गुरूङ र नेपाली काँग्रेसका जिल्ला कोषाध्यक्ष यामबहादुर मल्ल रामकृष्णले टीका र खादा लगाएर स्वागत गर्नु भएको थियो ।