पर्वत/जलजला गाउँपालिका वार्ड नं २ स्थित सिद्धबाबा प्राथमिक विद्यालयद्वारा गत पुसमा आयोजना गरिएको धनधाञ्याञ्चल ज्ञान महायज्ञको आम्दानी खर्च शुक्रबार एक कार्यक्रमका बीच सार्वजनिक गरिएको छ । जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण)को प्रमुख आतिथ्यतामा उक्त बजेट सार्वजनिक गरिएको हो । बजेट सार्वजनिकीकरण कार्यक्रममा बोल्दै अध्यक्ष मल्लले गाउँको शैक्षिक र सामाजिक विकासका लागि सबै गाउँबासीहरुका बीचमा एकता र सहकार्यको जरुरी रहेको बताउनुभएको थियो । अध्यक्ष मल्लले विद्यालयले गतबर्ष आयोजना गरेको महायज्ञले विद्यालयको शैक्षिक र भौतिक विकासका लागि महत्वपूर्ण सहयोग पुगेको वताउँदै महायज्ञबाट संकलित रकमलाई पारदर्शी ढंगले संचालन गर्न विद्यालय प्रशासनलाई सुझाव दिनुभएको थियो । अध्यक्ष मल्लले वन्द भएको उक्त विद्यालय आफूहरु जनप्रतिनिधि भएर आएपछि मात्रै संचालनमा ल्याएको स्मरण गर्दै विद्यालयको पठनपाठनमा थप सहयोग पुर्याउने हेतुले गाउँपालिकाको तर्फबाट एक स्थायी दरबन्दीको व्यवस्था गरिदिने प्रतिबद्धता समेत जनाउनु भएको थियो ।
कार्यक्रममा जलजला गाउँपालिकाका सामाजिक विकास समितिका संयोजक तथा वडा नं २ का वडा अध्यक्ष गोविन्द खत्रीले विद्यालयको भौतिक पूर्वाधार विकासले मात्रै विद्यार्थीलाई आकर्षित गर्न नसकिने वताउँदै विद्यालयप्रति अभिभावक र विद्यार्थीलाई आकर्षित गर्न शिक्षाको गुणस्तरमा पनि जोड दिन सुझाव दिनुभएको थियो । सोही कार्यक्रममा जलजला गाउँपालिकाका प्रवक्ता तथा भौतिक पूर्वाधार विकास संयोजक देवेन्द्र भण्डारी (रवि)ले महायज्ञको आम्दानीलाई सही सदुपयोग गरेर विद्यालयको भौतिक संरचना निर्माणका साथै शिक्षाको गुणस्तर सुधारमा लाग्न विद्यालय व्यवस्थापन समिति र शिक्षक शिक्षिकाहरूलाई सुझाव दिनुभएको थियो । महायज्ञबाट कुल ५३ लाख ४९ हजार चारसय ५५ रूपैयाँ आम्दानी भएको र २० लाख ४२ हजार नौसय ७८ रूपैयाँ खर्च भएको कोषाध्यक्ष भगवती शर्माले जानकारी दिनुभयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं पूजा व्यवस्थापन समितिका अध्यक्ष हिराबहादुर वरूवालको सभापतित्वमा भएको उक्त कार्यक्रमको संचालन पूजा व्यवस्थापन समितिका सचिव मुकुन्द शर्माले गर्नुभएको थियो भने कार्यक्रममा स्वागत मन्तव्य पूजा व्यवस्थापन समितिका उपाध्यक्ष मनिका पुनले गर्नु भएको जलजला गाउँपालिकाका सल्लाहकार यम शर्मा पौडेलले जानकारी दिनुभयो ।






