पर्वत/अमेरिकाको म्यारील्याण्ड राज्यका सांसद ह्यारी भण्डारीले पर्वतको विकासका लागि आफ्नो राज्यको तर्फबाट पूर्ण सहयोग गर्ने प्रतिवद्धता जनाउनु भएको छ । स्मार्ट सिटी सम्मेलनमा भागलिन अमेरिकाको एटलान्टा नगरपालिका पुग्नुभएका जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण)सँगको भेटघाटमा म्यारील्याण्ड राज्यका प्रतिनिधिसभा सदस्य भण्डारीले यस्तो प्रतिवद्धता जनाउनु भएको हो । भण्डारीले जलजलासहित समग्र पर्वतको पर्यटन, शिक्षा र स्वास्थ्यको विकासका लागि निकै चासो दिएको जलजला गाउँपालिकाका अध्यक्ष मल्लले जानाकारी दिनुभयो । ‘जलजला र पर्वतको विकासका लागि सांसद भण्डारीले निकै चासो देखाउनु भएको छ, खासगरि पर्यटन, शिक्षा र स्वास्थ्यको क्षेत्रमा सहयोग गर्ने भण्डारीको प्रतिवद्धताले हामीलाई थप उत्साहित बनाएकोे छ ।’– अध्यक्ष मल्लले भन्नुभयो । सांसद भण्डारीसँगको छलफलबाट जलजलाको हम्पाल क्षेत्रलाई पर्यटकीय हवका रुपमा विकास गर्ने, सामुदायिक विद्यालयमा गुणस्तरीय र प्रविधियुक्त शिक्षा संचालन गर्ने र सर्वसुलभ र सुविधासम्पन्न स्वास्थ्य संस्था स्थापनामा सहयोग पुग्ने विश्वास गरिएको छ ।
जलजला सहित समग्र पर्वतको विकासका सम्बन्धमा अध्यक्ष मल्लले भण्डारीकै कार्यकक्षमा करिब तीनघण्टा लामो संवाद र छलफल गर्नुभएको थियो । आफूले पर्वत भ्रमणको निम्ता दिएको र आफ्नो निम्तालाई स्वीकार गर्दै सांसद भण्डारीले छिट्टै नेपाल आउने र पर्वतको विकास सम्भावनावारे अध्ययन गर्ने प्रतिवद्धता जनाउनु भएको मल्लको भनाइ छ । भण्डारीले पर्वतको भूगोल र मानवीय अवस्थितिलाई आधार बनाएर विकासको योजना बनाउन सुझाव समेत दिनुभएको छ ।
पर्वतको फलेवास नगरपालिका–२, थापाठानामा जन्मनुभएका भण्डारीले जलजलाका गाउँपालिका वडा नं ३, माझफाँटमा विवाह गर्नुभएको हो । गत जुन २६, २०१८ मा भएको प्राथमिक चरणको निर्वाचनमा मेरील्याण्ड राज्यको निर्वाचन क्षेत्र नं ८ मा डेमोक्र्याटिक दलका तर्फबाट राज्य प्रतिनिधि सभा सदस्यमा ह्यारी भण्डारी बिजयी हुनुभएको थियो । भण्डारीले अमेरिका रहेका नेपाली समुदायको ईतिहासमा सबैभन्दा पहिला मूलधारको राजनीतिमा पुग्न सफल व्यक्ति हुनुहुन्छ । सम्भवत यसरी मूलुक बाहिर मूलधारको राजनीतिमा प्रवेश पाउने र सभासद बन्ने भण्डारी पहिला नेपाली मूलका हुनुहुन्छ । नेपालको पर्वत जिल्लाबाट २००५ मा अमेरिका पुगेका भण्डारी यसअघि अमेरिकामा प्राध्यापन पेशामा संलग्न हुनुहुन्थ्यो ।






