पर्वत/जलजला गाउँपालिका र अमेरिकास्थित जर्जिया राज्यको एटलान्टा नगरपालिकाबिच भगिनी सम्बन्ध गाँसिने भएको छ । एटलान्टामा भएको स्मार्ट सिटी एक्स्प्रोमा भाग लिन गएका जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण)ले त्यहाँका मेयरसँग त्यहाँको विकास निर्माण र जलजलाको विकास निर्माणको अवस्थाको बारेमा आदानप्रदान गर्दै भगिनी सम्बन्ध गाँस्ने तयारी भएको वताउनु छ ।
अध्यक्ष मल्लले सिटी अफ एटलान्टाका मेयर किसा लेन्स बतम्सलाई जलजला गाउँपालिकाको निमन्त्रणापत्र प्रदान गरेको जानकारी दिनुभयो । निमन्त्रणापत्र स्वीकार गर्दै मेयर बतम्सले छिट्टै नेपाल आएर जलजलाको भ्रमण गर्ने प्रतिबद्धता जनाएको मल्लले बताउनु भयो । ‘एटलान्टाका मेयरलाई नेपालको झण्डा उपहार प्रदान गर्दै जलजलाको भ्रमणका लागि आउन निमन्त्रणापत्र प्रदान गरे, उहाँले छिट्टै नेपाल आएर जलजला गाउँपालिका घुम्ने प्रतिबद्धता जनाउनुभयो’ अध्यक्ष मल्लले भन्नुभयो ।
मल्ल अमेरिकाको जर्जियास्थित सिटी अफ एटलान्टा नगरपालिकाले सेप्टेम्बर ११ देखि १३ सम्म आयोजना गरेको स्मार्टसिटी सम्बन्धी सम्मेलनमा भाग लिन भदौ २२ गते त्यसतर्फ प्रस्थान गर्नुभएको थियो । मल्लले विभिन्न मुलुकका प्रतिनिधिले त्यस मुलुकमा गरेका कामको अनुभव आदानप्रदान र छलफल गरेको बताउनु भयो । स्मार्टसिटी सम्मेलन सम्पन्न भएपछि मल्लले त्यहाँको विकास निर्माणको प्रत्यक्ष अवलोकन गर्नुका साथै विभिन्न संस्थाहरूसँग समेत जिल्लाको विकास निर्माणका लागि छलफल गर्नुभएको छ । एटलान्टापछि मल्ल बाल्टिमोरका विभिन्न शुभेच्छुकहरूसँग भेटघाटमा व्यस्त हुनुहुन्छ ।






