काठमाडौं/नेपाल तरुण दलको विधान पद्धतिलाई लत्याएर आफूखुसी निर्णय गरेको भन्दै अध्यक्ष जितजंग बस्नेतले महासचिव भुपेन्द्रजंग शाहीलाई पदीय मर्यादामा रहन सचेत गराएका छन् । महासचिव शाहीले अध्यक्ष बस्नेतलाई समेत जानकारी नदिई तरूण दल सिन्धुपाल्चोकका तत्कालीन उपाध्यक्ष सगुन श्रेष्ठको कारबाही फुकुवा र तरुण दल सप्तरीको अध्यक्षमा सीताप्रसाद यादवलाई नियुक्त गरेपछि अध्यक्ष बस्नेतले महासचिव शाहीलाई सचेत गराएका हुन् । अध्यक्ष बस्नेतले बुधबार सूचना जारी गर्दै शाहीले गरेको भनिएका निर्णय खारेज गरेको जानकारी समेत दिएका छन् । बस्नेतले बुधबार जारी गरेको सूचनामा लेखिएको छ, ‘महासचिव शाहीले आफ्नो पदीय काम, कर्तव्यविपरीत अनाधिकृत रुपमा गरेका निर्णय अस्वीकृत गरिन्छ ।’
अध्यक्ष बस्नेतले सप्तरीको अध्यक्षमा कसैलाई पनि नियुक्त नगरेको र सगुनको निष्कासन यथावत रहेको जानकारी दिएका छन् । बस्नेतले महासचिव शाहीलाई पदीय मर्यादामा रहन सचेत पनि गराएका छन् । उनले जारी गरेको सूचनामा लेखिएको छ, ‘नेपाल तरुण दलका महासचिव भुपेन्द्रजंग शाहीलाई आफ्नो पदीय जिम्मेवारीको परिधीमा रहन र संगठनको हितविपरीत अशिष्ट व्यवहार र क्रियाकलाप नगर्न यसै सूचनामार्फत सचेत गराइन्छ ।’
तरुण दल अध्यक्ष बस्नेत पार्टी सभापति शेरबहादुर देउवा निकट र महासचिव शाही वरिष्ठ नेता रामचन्द्र पौडेल निकटका हुन् त्यसैगरि उपाध्यक्षमा सिटौला निकटका उत्तम चापागाईंलाई र कोषाध्यक्षमा शेरबहादुर देउवा निकट विद्वान गुरुङलाई नियुक्त गरिएको थियो ।
उनीहरुको तीन वर्षे कार्यकाल आगामी कात्तिकमा सकिँदै छ । यसबीचमा मिलेर काम गरेको जस्तो देखिए पनि कार्यकाल सकिने बेला भने उनीहरुको विवाद सार्वजनिक हुनुलाई अर्थपूर्ण मानिएको छ । गत वर्षको दशैंमा महासचिव शाहीलगायतले अध्यक्ष जितजंगको हातबाट टीका लगाएको तस्वीरसमेत सार्वजनिक भएको थियो ।






