शिक्षकहरुको क्षमता विकास र प्रविधिमैत्री शिक्षाका लागि पैयुँ गाउँपालिकाको नयाँ कार्ययोजना

पर्वत/सामुदायिक विद्यालयका गुणस्तर कम भएको भन्दै अभिभावकहरुले बालबालिकालाई निजी विद्यालयमा पठाउन थालेपछि पैयुँ“ गाउँपालिकाले शैक्षिक सुधारका लागि नयाँ कार्ययोजना अघि सारेको छ । पैयुं गाउँपालिकाले चालु शैक्षिक सत्रदेखि सामुदायिक विद्यालयमा गुणस्तर वृद्धि गर्न विभिन्न कार्यक्रम अघि सारेपछि त्यस क्षेत्रका शिक्षक र अभिभावकहरु समेत उत्साहित भएका छन् । उल्लेख्य बजेट सामुदायिकमा खर्चिंदा पनि विद्यार्थी संख्या घट्दै गएपछि गाउँपालिकाले शिक्षक, विद्यार्थी र अभिभावकलक्षित कार्यक्रम ल्याएको हो ।

विद्यालयको नियमित अवलोकनदेखि शिक्षकको निगरानी, प्राविधिक र व्यावहारिक तालिम, भौतिक संरचनादेखि शिक्षकको क्षमता विकासका गतिविधिमा जोड दिएको गाउँपालिका अध्यक्ष खगेन्द्रप्रसाद तिवारीले बताए । ‘के गर्दा शैक्षिक सुधार हुन्छ, अभिभावकले भनिदिनुप¥यो,’ उनले भने, ‘छोराछोरीको भविष्य बनाउने विद्यालयमा अभिभावकले निगरानी राख्नुप¥यो ।’ अभिभावक विद्यालयमा नआए बच्चाले के सिक्दै छ भन्ने कसरी थाहा हुन्छ रु’ विद्यालय व्यवस्थापन र शिक्षकका सुझाव मान्न गाउँपालिका तयार रहेको उनले बताए । सामुदायिकको गुणस्तर राम्रो नभए समग्र सामाजिक परिवेशमा सुधार नआउने अध्यक्ष तिवारीको भनाइ छ ।

गाउँपालिकाभित्रका सबै विद्यालयमा आमूल परिवर्तन गर्न खोजिएको र त्यसका लागि विभिन्न रचनात्मक काम थालिएको शिक्षा अधिकारी राजेन्द्रबहादुर क्षत्रीले बताए । उनका अनुसार शिक्षकलाई पेसागत, प्रविधिमैत्री तथा आचरण सुधारका लागि विभिन्न खालका प्रशिक्षण दिने कार्यक्रम राखिएको हो । ‘धेरै कुरा सुधार गर्न आवश्यक छ,’ उनले भने, ‘भद्रगोल तरिकाले काम गरेर नतिजा आउँदैन । योजना बनाएर सुधार गर्नुपर्छ ।’ शैक्षिक सुधारका कार्यक्रमअन्तर्गत पहिलो चरणमा शिक्षकलक्षित एकीकृत शैक्षिक व्यवस्थापन सूचना प्रणाली तालिम सञ्चालन गरिएको उनले बताए । आगामी वर्ष गाउँपालिकाले विद्यालयलाई भौतिक रूपमा सक्षम बनाउनुका साथै शिक्षकको क्षमता विकासमा आवश्यक नीति र कार्यक्रम बनाउने शिक्षा अधिकारी क्षत्रीले जनाए । शिक्षकले लिएको जिम्मेवारी पूरा नगरेमा कारबाहीका लागि तयार रहन पनि उनले आग्रह गरे । पछिल्लो समयको शिक्षा प्रविधिमा आधारित हुँदै गएकाले शिक्षकले प्रविधि पछ्याउनुपर्नेमा जोड दिए ।

गाउँपालिकाकी उपाध्यक्ष जसमती गुरुङले शिक्षक आफ्नो आचरण र नैतिकतामा नबस्दा सामुदायिक विद्यालय भद्रगोल भएको बताइन् । ‘शिक्षक समाजका बत्ती हुन,’ उनले भनिन्, ‘अरूलाई उज्यालो दिने आफैं अँध्यारो भए हालत के होला । अहिले जतासुकै त्यस्तै भएको छ ।’ उनले शिक्षक पढाउने समयमा राजनीतिक गतिविधिदेखि घरायसी कामलगायत अन्य क्रियाकलापमा ध्यान दिन नहुने भन्दै अब शिक्षकको निगरानीदेखि विद्यालयको अवलोकनलाई निरन्तरता दिने बताइन् । जनसेवा संस्कृत मावि हुवासका व्यवस्थापन समितिका अध्यक्ष गिरिराज गौतमले आफूले विद्यालयको भौतिक संरचना निर्माणदेखि शिक्षकको अध्यापनमा नियमितता दिन विद्युतीय हाजिरीलाई प्राथमिकतादिएको जानकारी दिए ।