पर्वत/जलजला गाउँपालिकामा बुधबार सार्वजनिक सुनुवाई तथा घुम्ती शिबीर सम्पन्न भएको छ । जलजला गाउँपालिका तथा जिल्ला प्रशासन कार्यालय पर्वतको आयोजनामा मिलनचोकमा सार्वजनिक सुनुवाई र घुम्ती शिबीर सम्पन्न भएको हो ।
सार्वजनिक सुनुवाई कार्यक्रममा जलजला गाउँपालिका भित्र भएका बिकास निर्माण सम्बन्धी काम, गाउँ कार्यपालिकाका निर्णय र कार्यान्वयन, प्राकृतिक स्रोत साधनको प्रयोगमा देखिएको समस्या देखि शिक्षा, स्वास्थ्य, बिद्युत लगायतका बिषयमा सर्वसाधरणले जिज्ञासा राखेका थिए भने गाउँपालिकाबाट सम्पादन भएका कामका बारेमा पालिकाको तर्फबाट जानकारी गराइएको थियो । शिबीरमा जिल्ला प्रशासन कार्यालयबाट नागरिकताको प्रमाणपत्र बितरण, जिल्ला निर्वाचन कार्यालयबाट फोटो सहितको मतदाना नामावली संकलन, जिल्ला प्रहरी कार्यालयबाट समुदाय र प्रहरी साझेदारी कार्यक्रम, अपांग र जेष्ठ नागरिक परिचयपत्र बितरण, उद्योग दर्ता, कर संकलन लगायतका सुबिधा दिइएको थियो ।
उक्त सार्वजनिक सुनुवाई तथा घुम्ती शिबिर कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति पर्वतका प्रमुख मनोहर बिश्वकर्मा पौडेलले स्थानिय तहका काम कामकाबार्हीलाई प्रभावकारी बनाउन आवश्यक भएको बताउँदै पालिकाहरुका समस्या समाधानका लागि आवश्यक समन्वय गर्ने काम भैरहेको छ भन्नुभयो । नदीजन्य पर्दाथको उत्खनन र प्रयोग गर्ने कार्यको स्थानिय तहले तयारको गरेको वातावरणीय प्रभाव मुल्याँकनको प्रतिबेदन स्विकृत गर्ने र अनुगमन गर्ने अधिकार मात्रै समन्वय समितिलाई भएको तर कार्यान्वयन गर्ने काम स्थानिय तहकै हो भन्नुभयो ।
कार्यक्रममा जलजला गाउँपालिका अध्यक्ष यामबहादुर मल्ल(रामकृष्ण)ले संघीयताको मर्म अनुसार काम नभएको चर्चा गर्दै संघ र प्रदेशले स्थानिय तहको काममा अनावश्यक हस्तक्षेप भएका कारण काम गर्न कठिन भएको बताउनुभयो । गाउँपालिकाले सबै योजनाहरुको कार्यान्वयनको काम गर्दा पारदर्शी र ब्यबहारिक ढंगले भैरहेको बताउँदै नदीजन्य पर्दाथको उपयोग स्विकृत आइइ अनुसार भएको र कहिँ कतै भएको भए अनुगमन गरेर काबार्ही गर्ने प्रतिबद्धता जनाउनुभयो । उपभोक्ता समितिको गठन तथा योजनाहरुको छनौट र कार्यान्वयन गर्ने काममा कुनै भेदभाब नभएको दाबी समेत गर्नुभयो ।
प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले जनताको घरदैलोमा नै सेवा पु¥याउने उद्देश्यले घुम्तीशिबीर सञ्चालन गरिएको बताउनुभयो । उहाँले जनताका सेवक भएका कारण कर्मचारीले विना भेदभाव काम गर्न आग्रह गर्नुभयो । सार्वजनिक सम्पतिको सदुपयोग गर्ने दायित्व स्थानिय सरकारको भएको बताउँदै आवश्यक शान्ति सुरक्षाका लागि सहयोग गर्न प्रशासन सधै तयार छ भन्नुभयो । जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायब उपरिक्षक श्यामु अर्यालले घरेलुहिंसा, साइबर अपराधका घटनाहरु अहिले पनि बढीरहेको बताउँदै त्यसका बारेमा सचेत हुन र कानुनी उपचार खोज्न आग्रह गर्नुभयो । उहाँले अन्याय सहनुभन्दा दोषीलाई काबार्हीको कठघरामा उभ्याउनका लागि समुदाय र अगुवाहरु सचेत हुनुपर्ने र त्यसमा प्रहरीको सधै साथ रहन्छ भन्नुभयो ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले गाउँपालिकाले यस आर्थिक बर्ष सञ्चालन गरेका कामको प्रगति बिबरण पेश गर्नुभएको थियो । उहाँले सबै सडकको ७ मिटर मापदण्ड कार्यान्वयनमा रहेको, शिक्षकहरुको मासिक तलब निकासाको ब्यबस्था भएको, ६ सय ४० मिटर ढलान गरिएको, प्राथमिक तहमा अंंग्रेजी माध्यममा शिक्षण गर्ने ब्यबस्था मिलाइएको जानकारी दिनुभयो । चालु आर्थिक बर्षका १ सय ४२ योजनाहरुको सम्झौता भएकोमा ७४ योजना फरफारक भएको तथा ६८ वटा योजनाहरु कार्यान्वयन चरणमा रहेको जानकारी दिनुभयो । घर नक्सा पास गर्ने, वडातहमै शिबिर सञ्चालन गरेर राजस्व संकलन गर्ने लगायतका काम गरिरहेको पनि उहाँको भनाई थियो । वडा नं २ का अध्यक्ष गोबिन्द क्षेत्री, वडा नं ४ का अध्यक्ष भिष्म मल्ल, वडा नं ८ का अध्यक्ष हरिबिकास जिसीले पनि बिभिन्न प्रश्नहरुको जवाफ दिनुभएको थियो ।






