कम्युनिष्टहरुले कुहेको चामल बेच्न जान्यो तर हामीले जिरा बास्मती पनि बेच्न सकेनौं –काँग्रेस नेता महत

पर्वत/नेपाली काँग्रेसका सह–महामन्त्री डा.प्रकाशशरण महतले कम्युनिष्टले जनतामा भ्रम चर्को छर्ने तर कामै नगर्ने गरेको बताएका छन् । नेपाली काँग्रेस पर्वतको पार्टी कार्यालयमा शनिबार बिहान कार्यकर्ता भेटघाटमा महतले कम्युनिष्टबाट भ्रमित भएका जनता बिस्तारै बुझ्न थालेको बताए । ‘निरंकुश फाल्ने हामी, शान्ति ल्याउने हामी, संविधान ल्याउने हामी, संविधानको कार्यान्वयन गर्ने हामी, मुलुकलाई विकासको दिशानिर्देश गर्ने हामी तर अहिले हामीले गरेको काम देखिएको छैन’ पर्वतका कार्यकर्ता भेटघाटमा महतले भने–‘कम्युनिष्ट गर्दै नगरेको कामलाई पनि प्रचार गरेर भ्रम छर्न पोख्त छन तर हामी गरेका कामलाई पनि प्रचार नै गर्दैनौ ।’

कम्युनिष्ट ज्यादा कुरा गर्ने, काँग्रेस काम गर्ने भएकोले कम्युनिष्ट र काँग्रेसबिचको फरक नै त्यही भएको उनले बताए । ‘जनतालाई सधै भ्रममा राख्ने कम्युनिष्टको शक्ति भनेकै प्रोपोगाण्डा हो’ उनले भने–‘कम्युनिष्टहरुले कुहेको चामल बेच्न जान्यो तर हामीले जिरा बास्मती पनि बेच्न सकेनौं ।’ काँग्रेसले गरेको कामको प्रचार कम हुँदा कम्युनिष्टले कुहेको चामल बेचिरहेको प्रसंग ल्याउदै काँग्रेस सह–महामन्त्री महतले कामसँगै जनतालाई बुझाउन नसक्नु काँग्रेसको कमजोरी भएको धारणा राखे । ‘कम्युनिष्टभन्दा एक सय गुण बढी काम हामीले गरेका छौ तर पनि अहिले केही पनि नगरेझै भएको छ’ उनले भने । उनले आफु–आफुबिच आन्तरिक आरोप–प्रत्यारोप, निन्दा गर्ने बानीले काँग्रेस कमजोर भएको भन्दै उनले कम्युनिष्टको खराब काम र भ्रमका बिषयमा जनतालाई बुझाउन लाग्न नेता कार्यकर्तालाई निर्देशन दिए । उनले अहिलेको एक महिने जनजागरण कार्यक्रम भनेको कुन गाउँमा पार्टीको अवस्था के छ ?, के के समस्या छन् ? के गर्दा पार्टी मजबुत हुन्छ भन्ने रहेको भन्दै उनले जनजागरण कार्यक्रममा जनतासँग बसेर प्रश्नोत्तर गर्न पनि आग्रह गरे । उनले ब्यक्तिगत महत्वकांक्षा, असन्तुष्टिलाई त्यागेर पार्टीको विचार र गतिशिल बनाउन योगदान गर्न पनि नेता कार्यकर्तालाई आग्रह गरेका थिए ।

कार्यक्रममा नेपाली काँग्रेसका आमन्त्रित केन्द्रीय सदस्य किरण पौडेल, पूर्वसांसद चम्पादेवी खड्का, काँग्रेस पर्वतका सचिव बिश्वप्रकाश प्रसाई, कोषाध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण), जिल्ला सदस्य डा.चुडामणी शर्मा र देवीप्रसाद बिलासीलगायत नेता कार्यकर्ताको उपस्थिति रहेको थियो । यसैबिच सहमहामन्त्री महतले शनिबारै नेपाली काँग्रेस पर्वतका पूर्वसचिव सोमलाल आचार्यको निधन भएकोमा परिवारलाई भेटेर समबेदना दिए । आचार्यको निधनले इमान्दार नेता गुमाएको भन्दै महतले शोकलाई शक्तिमा बदल्न पनि आग्रह गरेका थिए ।