सरकारी निकायकै मिलेमतोमा अबैध रुपमा गिट्टी, बालुवा बिक्री गर्दै लामा कन्ट्रक्सन

पर्वत/ठुला र गौरबका आयोजनाका ठेकेदारले सम्बन्धित निर्माणमा प्रयोग गर्नेगरी मात्रै क्रसर उद्योग सञ्चालन गर्न सक्छन् । सम्बन्धित निर्माणको आवश्यक मात्रै सामान उत्पादन गर्न निर्माण अवधिसम्म क्रसर उद्योग सञ्चालन गर्न दिने राष्ट्रिय नीति हो । तर, यहाँ निर्माण भएको मध्यपहाडी लोकमार्ग अन्र्तगत पर्वत खण्डको जिम्मा लिएको लामा कन्ट्रक्सन प्रालिले कुश्मा नगरपालिका वडा नम्बर ८ दोबिल्लामा सञ्चालन गरेको क्रसरले सामान उत्पादन गरी गिट्टी, बालुवा अन्य निर्माणका योजनामा बिक्री गर्दै आएको छ । उक्त क्रसरले सडक निर्माणका क्रममा निस्किएको माल प्रयोग गरेर गिट्टी, बालुवा उत्पादन गर्नुपर्ने भएपनि खोलाबाट समेत अबैध रुपमा सामान निकाल्न थालेको छ । लामा कन्ट्रक्सनले चलाएको क्रसर उद्योगले अन्य पुल, सडक, निजि तथा सरकारी भवनमा समेत अबैध रुपमा गिट्टी, बालुवा बिक्री बितरण गर्दै आएको छ । आफुले निर्माण गरेको सडकमै मात्रै सामान प्रयोग गर्नुपर्नेमा खुलेआम ब्यापारमा कस्सिएपछि त्यसको चौतर्फी बिरोध भएको छ ।

लामा कन्ट्रक्सनले प्रहरी, प्रशासन र कुश्मा नगरपालिकासँगकै मिलेमतोमा गिट्टी, बालुवाको ब्यापार चलाएको स्रोतले बतायो । कुश्मा नगरपालिकाले खोलाबाट समेत सामान निकाल्न पाउनेगरी चिठी दिएको छ । राष्ट्रिय गौरबको आयोजना भएको र सामान अभाव भएको बहानामा जिल्ला समन्वय समिति, जिल्ला प्रशासन कार्यालय, कुश्मा नगरपालिका, मध्यपहाडी लोकमार्ग आयोजना कार्यालयलगायतले खोलाबाट समेत सामान निकाल्न दिने निर्णय गोप्य रुपमा गरी नगरपालिकाले पत्र दिएको हो । तर छ महिनाअघिदेखि सञ्चालनमा आएको क्रसरले दैनिक एक सय टिपरसम्म सामान बाहिर बिक्री गर्दै आएको छ । यो क्रसरले उत्पादन गरेको गिट्टी सेतो छ । अहिले कुश्मा वरपरका हरेक निर्माणका योजना र ब्यक्तिगत घर निर्माणमा समेत यो गिट्टी प्रयोग गरेको प्रष्ट रुपमा देख्न सकिन्छ । जिल्ला समन्वय समितिका प्रमुख मनोहर बि. पौडेलकै घर अगाडी निर्माण भइरहेको घरमा समेत यो गिट्टी भेटिएको छ । त्यस्तै कुश्मा–दुर्लुङ सडकको ढलान, आम्बोटमा निर्माण भइरहेको पक्की पुल, कुश्माबजारमा निर्माण स्तरोन्नती हुँदै गरेको सडक, फलेबास–लुंखु सडकमा पनि लामा कन्ट्रक्सनकै नाममा खोलिएको क्रसरले उत्पादन गरिएको सामान पुगेको छ । आफुलाई आवश्यक पर्ने सामान सडक खन्ने क्रममा निस्किएको मालबाटै उत्पादन गर्नुपर्ने नीति भएपनि अहिले अबैध रुपमा खोलाबाट समेत सामान उठाउन थालेको छ । आफ्नो योजनाको काम मात्रै सम्पन्न गर्नका लागि चलाइएको क्रसर उद्योगले भटाभट सामान अन्य आयोजनामा दैनिक लाखौको माल बिक्री गर्नु, सरोकारवाला निकायले नै खोलाबाट थप नदीजन्य सामान निकाल्ने अनुमति दिनु, प्रहरी प्रशासनले बाहिर सामान बिक्री गर्दा बेवास्ता गर्नु, कुश्मा नगरपालिकाले पत्र दिनुले आर्थिक लेनदेनकै कारण भएको हुनसक्ने आमरुपमा आशंका उठेको छ ।

पर्वत जिल्लामा हाल राज्यको निकायमै दर्ता भएर सञ्चालनमा आएका तीन वटा क्रसर उद्योग रहेका छन् । विकासे योजनामा ती क्रसर उद्योगबाटै आवश्यक ढुंगा, गिट्टी, बालुवा निकासी गर्ने सम्भावना हुँदाहुँदै राज्यका निकायले नै एउटा आयोजनाका लागि सञ्चालन भएको क्रसरको सामान खुलमखुल्ला अन्यत्र बिक्री गर्न दिनु दुःखद भएको जिल्लाका क्रसर उद्योगहरुले जनाएका छन् । यहाँ बर्षौदेखि सञ्चालन भएका क्रसर उद्योगलाई नदीमा एक्साभेटर प्रयोग गर्न र सामान निकाल्न रोक्दै आएको जिल्ला समन्वय समिति, जिल्ला प्रशासन कार्यालय, कुश्मा नगरपालिकाले निश्चित योजना निर्माणका लागि सञ्चालन भएको क्रसरलाई अन्यत्र सामान निकासीका लागि किन पत्र लेखे त्यसले गम्भिर शंका जन्माएको छ । त्यसो त मध्यपहाडी आयोजना कार्यालयका योजना प्रमुख आशिष थापा मगर, प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकाल, कुश्मा नगरपालिकाका नगर उपप्रमुख सिता काफ्ले लामिछाने र प्रमुख प्रशासकिय अधिकृत सुबासकुमार लामिछानेले हस्ताक्षर गरेको पत्र एकआपसमा बाँझिएको छ ।

मध्यपहाडी आयोजनाका योजना प्रमुख थापा मगरले कुश्मा नगरपालिका, जिल्ला प्रशासन कार्यालय, जिल्ला समन्वय समिति र जिल्ला प्रहरी कार्यालयलाई पत्र लेखेर कुश्मा नगरपालिका वडा नम्बर २ को सार्वजनिक बगर र शिवकुमारी उपाध्यायको निजि जग्गाबाट निकाल्नका लागि लामा कन्ट्रक्सनलाई स्वीकृति दिन पत्र लेखेका छन् । प्रजिअ ढकालले जिल्ला समन्वय समिति र कुश्मा नगरपालिकामा उक्त पत्रअनुसार स्वीकृतिका लागि सिफारिस गरेका छन् । कुश्मा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत सुबासकुमार लामिछानेले जिल्ला प्रशासन कार्यालय र मध्यपहाडी आयोजनाको सिफारिसअनुसार भन्दै माछापुच्छे« निर्माण सेवा जलजला–७ पर्वतलाई बैशाख मसान्तसम्मका लागि सामान निकाल्न दिनका लागि स्वीकृति दिएका छन् ।
खुलमखुल्ला अन्य आयोजनामा सामान बिक्री गर्दै आएको क्रसरलाई यसरी कालीगण्डकी नदीको बगरमै सामान उत्खनन् गर्न किन यसरी यी निकायले स्वीकृति दिए भन्नेमा आशंका बढेको छ । सामान अभाव भनिएको लामा कन्ट्रक्सन प्रालिबाट छ हजार घनमिटर सामान किन कालीगण्डकी करिडोर प्रसारण लाइनको निर्माणस्थलमा दिन कुश्मा नगरपालिकाका उपप्रमुख सिता काफ्ले लामिछानेले गरेको सिफारिस पनि शंकाको घेरामा छ । स्रोतकाअनुसार नदीजन्य सामान अबैध तरिकाले बिक्री गरेर कमाउने गिरोह सक्रिय भएको र त्यही योजनाअनुसार सरकारी निकाय प्रयोग भएको बुझिएको छ । प्रमुख जिल्ला अधिकारी ढकालले मध्यपहाडी आयोजनाको अनुरोधअनुसार सिफारिस गरेको बताए । कुश्मा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत सुबासकुमार लामिछानेले मध्यपहाडी र विशेषगरी जिल्ला प्रशासनको सिफारिस अनुसार स्वीकृति दिएको दाबी गरे ।

मध्यपहाडीको पर्वत खण्ड अत्यन्त कमजोर बन्दै
राष्ट्रिय गौरबको आयोजना हो मध्यपहाडी लोकमार्ग । अहिले निर्माण भइरहेको यो सडक दशकबढी टिकाउ हुनुपर्छ । त्यही अनुसार निर्माण हुनुपर्छ । तर, मध्यपहाडी लोकमार्गको पर्वत खण्ड अत्यन्त कमजोर रुपमा निर्माण भइरहेको छ । पुरानो नाली काटेर त्यही नयाँ नाली निर्माण गरिरहेको निर्माण कम्पनी लामा कन्ट्रक्सन प्रालिले छेउछाउ र कमजोर तरिकाले वाल लगाउने काम गरिरहेको छ । त्यहाँ हालसम्म प्रयोग गरिएको बालुवा माटो मिसिएको अत्यन्त कमजोर छ । माटो मिसिएको कमसल खालको बालुवाका कारण केही बर्षमै यो सडक पुरानै अवस्थामा फर्कने आशंका गरिएको छ । पटक–पटक प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकाललगायतलाई यसको बिषयमा जानकारी गराउँदासमेत उनीहरुले बेवास्ता गर्ने गरेका छन् । दुई÷तीन बर्षसम्म हिलाम्य र कष्टकर यात्रा गरेर भएपनि सडक निर्माणमा साथ दिएका जनतालाई यो सडक निर्माणको क्रममा भएको गलत कामले धौलागिरीबासीलाई नै प्रभावित पार्ने भएको छ ।
फेवा र नयाँ बाटोको अर्को बदमासी
तल्लो मोदी जलबिद्युत निर्माणको केही संरचनाको ठेक्का लिएको फेवा कन्ट्रक्सन र नयाँबाटोले आयोजनाको सबै संरचना निर्माण भएपछि पनि क्रसर उद्योग भने चलाइरहेका छन् । तल्लो मोदी आयोजनाको प्रयोजनका लागि खोलिएको क्रसर उद्योगबाट अहिले अन्यत्र सामान बिक्री भइरहेको छ । ‘तल्लो मोदी जलबिद्युत आयोजनालाई अव गिट्टी, बालुवा आवश्यक छैन तर त्यसैको नाममा क्रसर सञ्चालन भइरहेको छ, त्यहाँबाट सामान अन्यत्र बिक्री भइरहेको छ’ स्रोतले भन्यो । सुरुङ खनेर निस्किएको मालबाट गिट्टी बालुवा उत्पादन गरी आयोजनाको निर्माण गर्ने प्रयोजन भएपनि अहिले रतीखोला पुल, पातिचौर–लप्सीबोट जाने सडकदेखि फलेबाससम्म उनीहरुले सामान बिक्री गर्दै आएका छन् । यो अबैध काम भइरहेपनि प्रहरी प्रशासन चुपचाप छ ।
सारथी न्यूजबाट