तोकिएको मापदण्ड विपरित बनेका घर टहरालाई मध्यपहाडी लोकमार्गमार्फत हटाइने

27

पर्वत/पोखरा बागलुङ राजमार्ग निर्माणपछि तोकिएको मापदण्ड विपरित बनेका घर टहरालाई मध्यपहाडी लोकमार्गमार्फत हटाइने भएको छ । मध्यपहाडी लोकमार्गलाई बिस्तार गर्ने क्रममा बागलुङ बजारमा पर्ने घर टहरा हटाउने काम शुरु भएको हो । बागलुङ नगरपालिका वडा नं. १ र २ का घर टहरा भत्काएर सडक चौडा पार्न दुवै वडा कार्यालयले सात दिने सूचना समेत जारी गरेका छन् । हाल बाङगेचउर देखि सोझै उपल्लाचौर पुग्ने गरी लोकमार्गको रेखाङकन भएपनि बजार प्रवेशको बाटो समेत चौडा बनाउन पर्ने भएकोले काम थालिएको वडा नं. २ का अध्यक्ष जीवन आचार्यले बताए ।

चौडा पारिएको सडक कम्तिमा १० मीटरमा कालोपत्रे गर्ने योजना छ । हाल यो खण्डमा ८ मीटर मात्र कालोपत्रे छ । हाल यो खण्डमा दर्जनबढी घरटहराले बाटो फराकिलो बनाउन अप्ठ्यारो परेको छ । वडा नं. १ अध्यक्ष दुर्गे सार्की र आचार्यले सूचना जारी गरेर सात दिन भित्र घरटहरा सार्न आग्रह गरेका हुन् । यो खण्डको झण्डै ३ किमी खण्डमा सडक साँघुरो भएकोले सवारी आवागमनमा बढी समस्या पर्ने गरेको छ । आचार्यका अनुसार वडा नं. २ का ७ वटा पक्की घर भत्काउनुपर्ने भएको छ । वडा नं. १ मा भने पक्की घर नपर्ने, बरु टहराहरु भत्काएर पछाडि सार्नुपर्ने भएको हो । दोहोरो नाली निर्माण र सडक चौडा बनाएमा लोकमार्गका सवारी सहित स्थानीय सवारी र पैदल यात्रीलाई सहज हुने आचार्यले बताए ।

बजार भित्र लोकमार्ग ल्याउँदा धेरै क्षति हुने भन्दै केहीबर्ष अघिदेखिनै बजारबासी आन्दोलित भएपछि बजार छलेर रेखाङकन गरिएको थियो । रामरेखाबाट लैजादा पनि मापदण्ड नछाड्ने भन्दै तीन बर्षअघि स्थानीयले बिरोध जनाएका थिए । दुवै तर्फको बिरोध आएमा लोकमार्गले मुख्य बजार छाडेर सोझै अक्षेते तर्फ जाने संकेत पाएपछि बिरोधका स्वर कम भएका थिए । चौडा पारिने सडकले बिकल्पको काम गर्ने आयोजनाका प्रतिनिधिले बताए ।