पूननिर्माण अन्तर्गत पहिलो किस्ता लगेर घर नबनाएका ७ जनाकोअनुदान रकम फिर्ता

चैत्र,८–पर्वत/ जिल्लामा भूकम्प पछिको पूननिर्माण अन्तर्गत पहिलो किस्ता लगेर घर नबनाएका ७ जनाले अनुदान रकम फिर्ता गरेका छन् । भूकम्प पूननिर्माण जिल्ला आयोजना कार्यान्वयन ईकाई अनुदान व्यवस्थापन तथा पूर्वाधार विकास कार्यालयका अनुसार फिर्ता गर्नेमा कुश्मा नगरपालिका ६ जना र फलेवास नगरपालिकाका १ जना रहेका छन् ।

पहिलो किस्ता लगेर पनि घर निर्माण नगरेकालाई भदौ देखि कार्यालयले रकम फिर्ता गर्न अनुरोध गर्दै आएको छ । कम क्षति भएका जिल्लाको सूचीमा रहेको पर्वतमा लाभग्राहीको संख्या ५ हजार २ सय ६९ छ । अहिलेसम्म घर निर्माण सम्पन्न गरेका एक सय ६४ जना रहेका छन् । चार हजार ९ सय ५० जनाले पहिलो किस्ता वापतको ५० हजार रुपैयाँ लगेका थिए । दोस्रो किस्ता लिनेको संख्या दुई हजार ३ सय ७४ रहेको छ । सबैभन्दा बढि घर निर्माण मोदी गाउँपालिकामा भएको छ । मोदीमा ४९ जनाले घर निर्माण सकेर तेस्रो किस्ता लिईसकेको कार्यालय प्रमुख रामआशिष शाहले जानकारी दिनुभयो ।

पैयुँ गाउँपालिकामा अहिलेसम्म एकजनाले पनि घर निर्माण सकेका छैनन् । कार्यालय प्रमुख शाहका अनुसार पैयुँ गाउँपालिकाका ६ सय ५८ जनाको घर पूर्ण क्षतीमा परेको र ६५१ जनाले पहिलो किस्ता र २३९ जनाले दोस्रो किस्ताको रकम बुझेको कार्यालयमा रेकर्ड छ । फलेवास नगरपालिकामा ९ जनाले घर निर्माण सकेर तेस्रो किस्ताको रकम बुझेका छन् । कुश्मामा ३१, जलजलामा २८, महाशिलामा १५, बिहादीमा ३२ जनाले घर निर्माण गरेर सकेका छन् । भूकम्पको पूननिर्माण अन्तर्गत जिल्लाभरिबाट दुई हजार ८ सय ७४ वटा गुनासो आएको छ ।