‘क्रान्ति नायक’ गिरिजाप्रसाद कोइरालाको स्मृतिसभामा पर्वत काँग्रेसका नेताहरु कसले के भने ?

चैत्र,७–पर्वत/सङ्घीय लोकतान्त्रिक गणतन्त्रका नायक तथा पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको नवौं स्मृति दिवस पर्वतमा पनि मनाइएको छ । नेपाली कांग्रेस जिल्ला कार्यसमिति पर्वतको आयोजनामा भएको कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरुले गिरीजावावु निडर र दुरदर्शि नेता भएको वताउँदै नेपाली राजनीतिमा उहाँको अभाव आज पनि खड्किरहेको धारणा राखेका थिए ।

कार्यक्रममा प्रमुख अतिथिको रुपमा मन्तव्य राख्दै नेपाली काँग्रेस पर्वतका पूर्व सभापति एवं प्रतिनिधिसभा सदस्य लालकाजी गुरुङले कार्यरालाको हक्की र निडर स्वभावकै कारण कोइराला लामो समय नेपाली काँग्रेसको नेतृत्व गर्नुभएको र चार पटकसम्म प्रधानमन्त्री भएको वताउनु भएको थियो । सांसद गुरुङले कोइरालाले देखाएको मार्गचित्रका आधारमा अघि बढ्न सके काँग्रेस फेरि पहिलो पार्टी हुने भन्दै अनुशासित र एकतावद्ध भएर अघि बढ्न सबैलाई सुझाव दिनुभएको थियो ।

सोही कार्यक्रममा नेपाली काँग्रेस पर्वतका पूर्व सभापति नवराज गुरुङले कोइरालाले १० वर्षे सशस्त्र युद्धमा रहेका माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन १२ बुँद्धे सम्झौता गर्नेदेखि दोस्रो जनआन्दोलनको नेतृत्व गरेर गिरिजाप्रसाद कोइरालाले आफ्नो राजनीतिक उचाई थपेको वताउनु भएको थियो ।

कार्यक्रममा महासमिति सदस्यहरु बसन्तबहादुर सिके र मिना केसी, जिल्ला कार्य समिति सदस्यहरु कुलप्रसाद उपाध्याय र डा. चूडामणि शर्मा, नेपाली काँग्रेसका क्षेत्रीय सदस्य विप्लव हमाल, नेपाल टे«ड युनियन काँग्रेस पर्वतका अध्यक्ष सुरेन्द्र केसी, नेपाल निजामति कर्मचारी युनियन संघ पर्वतका अध्यक्ष यमप्रसाद शर्मा र नेपाल पत्रकार महासंघ पर्वतका पूर्व अध्यक्ष एवं रेडियो शालिग्रामका स्टेशन म्यानेजर ओमप्रसाद घायल लगायतले स्वर्गिय गिरिजाप्रसाद कोइरालाले नेपाली राजनीतिमा पु¥याएको योगदानको चर्चा गर्नुभएको थियो ।

नेपाली काँग्रेस पर्वतका उपसभापति दुर्गाबहादुर खत्रीको सभापतित्वमा भएको उक्त कार्यक्रमको संचालन पार्टी सचिव विश्वप्रकाश प्रसाईले गर्नुभएको थियो भने स्वागत मन्तव्य जिल्ला कार्यसमिति सदस्य लेखबहादुर गुरुङले गर्नुभएको थियो । महामानव विपी कोइरालाका कान्छा भाइ गिरिजाबाबुको जन्म भारतको बिहार राज्यको टेडी भन्ने गाउँमा विस १९८१ असार १८ मा भएको थियो ।