पर्वतको जिल्ला भेलामा काँग्रेस नेताहरुले एकैश्वरमा भने–‘ओली सरकारका एकबर्ष उखान टुक्कामै विते’

फागुन, २७–पर्वत/नेपाली काँग्रेसका सभापती शेरबहादुर देउवाले ओली सरकारले देशमा द्वन्द, अराजकता र विखण्डनलाई संरक्षण गरेको आरोप लगाउनु भएको छ । नेपाली काँग्रेस पर्वतले सोमवार पर्वतमा आयोजना जिल्ला भेलालाई सम्बोधन गर्दै सभापति देउवाले सरकारको कार्यशैलीले जनताहरु अत्तालिइसकेको वताउनु भएको हो । सरकार गठनको एक बर्षमा पनि कुनैपनि काम नभएको भन्दै देउवाले वर्तमान सरकारले उखान र टुक्कामा आम नेपालीलाई भुलाईरहेको आरोप समेत लगाउनु भयो । ‘देश उखान टुक्का भनेर र मन लाग्दी बोलेर माक्रै बन्दैन त्यसका लागि योजना र इच्छाशत्ति चाहिन्छ’ देउवाले भन्नुभयो ‘वर्तमान सरकार गठन पछि देशमा हत्या र वलत्कारका घटना बढ्दै गएका छन्, सरकार चुपचाप बसिरहेको छ ।’ चिकित्सा शिक्षा बिद्येयकमा वर्तमान सरकारले तोडमोड गरेर जनचाहना बिपरितको काम गरेको देउवाको दावी थियो । आफुले ल्याएको अध्यादेशमा बिरोध गर्ने वर्तमान सरकारको नेतृत्वले चिकित्सा बिद्येयक ल्याउँदा गरिवका छोरा छोरी पढ्न नसक्ने वातावरण सिर्जना गरेको जिकिर गर्नुभयो । नेपाली काँग्रेसले महासमिति बैठकबाट पार्टीलाई समावेशी बनाएको भन्दै देउवाले अव नेपालमा काँग्रेसको जस्तो समावेशी बिधि बिधान कुनैपनि पार्टीको नभएको बताउनु भयो ।

कार्यक्रममा बोल्दै काँग्रेस नेता तथा पार्टी प्रबक्ता विश्वप्रकाश शर्माले वर्तमान सरकारका सामु कुनै पनि चुनौती नभएको भन्दै सहज अवस्थामा पनि सरकारले काम गर्न नसकेको बताउनु भयो । वर्तमान सरकारको नेतृत्व गरीरहेका नेकपा अध्यक्ष केपी शर्मा ओलीप्रति लक्षित गर्दै शर्माले भन्नुभयो ‘वर्तमान सरकारको राष्ट्रबाद सिके राउतको पाउमा गएर बिलाएको छ, सिकेसँग भएको सम्झौताको दुई नम्बरबुदाले त्यसको उजागर गरेको छ ।’ शर्माले सिके राउतसँग सरकारले अमुर्त सम्झौता गरेर देश र जनतालाई धोका दिएको दावी गर्नुभयो । वर्तमान सरकारमा कुनैपनि दृष्टीले राष्ट्रवाद नरहेको भन्दै शर्माले राष्ट्रियता संकटमा परेको दावी गर्नुभयो । बुढी गण्डकी निर्माण देखी निजगड बिमानस्थल निर्माणका लागि काटिने रुख सम्ममा वर्तमान सरकारले राजनीति गरेको भन्दै शर्माले देश र जनताको पक्षमा सरकारले काम गर्न नसकेको बताउनु भयो । ‘देशमा रेल ल्याउने कुरा छ त्यो सपना मात्रै हो’ शर्माले भन्नुभयो ‘सपनाले हाँगा हालेका छन तर जरा छैनन् ।’ देशचलाउने राजनीतिज्ञले देख्ने सपनाका जरा र हाँगा बराबर हुनुपर्ने भन्दै उनले केपी ओलिले देखेको सपनाको हाँगा मात्रै फैलिएको आरोप लगाउनु भयो । वर्तमान सरकारमा रहेको पार्टीले निर्वाचनका बेला गरेका प्रतिवद्धता पुरा गर्ने समय पाँच बर्षको भएपनि कामको सुरुवातनै नगरेको उहाँको भनाई थियो । ‘सरकारले काम गरेन भन्ने ठाउँनै छैन’ शर्माले भन्नुभयो ‘एक बर्षको अबधि पुरा गर्दा कुनैपनि सुरुवात भएका छैनन् ।’ देशमा स्थीरताका लागि कांग्रेसले आन्दोलनका कार्यक्रम नगरेको भन्दै शर्माले हत्या, हिंसा र महंगी जस्ता घटना बढ्दै गए चुप लागेर नबस्ने बताउनु भयो ।

सोही कार्यक्रममा केन्द्रिय सदस्य अर्जुनप्रसाद जोशीले वर्तमान सरकारले काम भन्दा गफ बढि गरेको बताउनुभयो । सरकारका काम देखेर जनतामा निराशा मात्रै देखिएको जोशीले बताउनुभयो । केन्द्रिय सदस्य अर्जुनप्रसाद जोशीले कम्यूनिष्टहरुले जनतालाई झुक्काएर मत बटुलेको र अहिले आफ्नो असली चरित्र देखाएको बताउनुभयो । जोशीले एकले अर्कालाई विश्वास गरेर आगामी दिनमा सबै नेता कार्यकर्ता सच्चिएर जनतामाझ जानुपर्ने र त्यसमा आफु सबैखालको त्याग गर्न तयार रहेको बताउनुभयो ।

कार्यक्रममा नेपाली काँग्रेसका नेता गोपालमान श्रेष्ठ, नेपाली कांग्रेसकी केन्द्रिय सदस्य रत्न शेरचन, नेपाली कांग्रेस भक्तपुरका सभापति दुर्लभ थापा, नेपाली कांग्रेस पर्वतका पुर्व सभापति नवराज गुरुङ, प्रदेश साँसद ललितकला गुरूङ, संविधान सभाका पुर्व सदस्य रामहरि खतिवडा, नेपाल तरुण दलका केन्द्रिय सभापति जितजङ्ग बस्नेत, पुर्व सांसद ऋषिकेश तिवारी, नेपाल तरुण दलका केन्द्रिय कोषाध्याक्ष विद्वान गुरूङ, प्रदेस सभा ख का उम्मेदवार राजेन्द्रप्रसाद तिवारी, नेपाली काँग्रेस पर्वतका जिल्ला सदस्य लेखबहादुर गुरुङ, नेपाल महिला संघ पर्वतका सभापति जोगमाया प्रसाईं,नेपाल तरुण दल पर्वतका सभापति तोरण मल्ल ठकुरी, महाधिवेशन प्रतिनिधि जितबहादुर सुनार शेरबहादुर लगायतले बोल्नु भएको थियो ।

नेपाली काँग्रेसका जिल्ला सभापति खिमप्रसाद भुसालको सभापतित्वमा भएको जिल्ला सम्मेलन कार्यक्रमको स्वागत उपसभापति दुर्गाबहादुर खत्री र सञ्चालन सचिव विश्वप्रकाश प्रसाईले गर्नुभएको थियो ।