फागुन, २७–पर्वत/नेपाली काँग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले ओली सरकारबाट जनताहरुले दुख पाएको वताउनु भएको छ । पार्टी संगठनको सुदृढिकरणको अभियान अन्तरगत तीनदिने धौलागिरीको भ्रमणमा निस्कुनु भएका सभापति देउवाले सोमवार विहान नेपाली काँग्रेस जलजला गाउँ कार्य समिति पर्वतले जलजला ४ मोहनचोकमा आयोजना गरेको नेपाली काँग्रेस जलजलाको पाटी भवन तथा मोहनबहादुर मल्ल स्मृति भवनको शिलन्यास गर्दै उक्त कुरा वताउनु भएको हो । सभापति देउवाले कम्युनिष्ट सरकारले सुख र समृद्धिको नारा लगाएर जनतामाथि महंगी, भ्रष्ट्राचार र अत्याचार थोपरेको आरोप लगाउनु भयो । सभापति देउवाले काँग्रेसलाई एकता भएर अघि बढ्न सुझाव समेत दिनुभयो । ‘कम्युनिष्ट सरकारसँग जनताहरु अत्तालिइसकेका छन्, तपाईहरु एक भएर अघि बढ्नोस, यो देशको समृद्धि काँग्रेसकै नेतृत्वमा सम्पन्न हुन्छ ।’– सभापति देउवाले भन्नुभयो । उहाँले नेपाली काँग्रेस जलजला कार्यसमितिले पार्टी भवनको शिलन्यास गरेर राम्रो काम गरेकोमा प्रशंसा गर्दै भवनको लागि जग्गा प्रदान गर्ने स्व.मोहनबहादुर मल्लको परिवार र भवन निर्माणको अभियान थाल्ने जलजला गाउँपालिकाका अध्यक्ष तथा नेपाली काँग्रेस पर्वतका कोषाध्यक्ष यामबहादुर मल्ल रामकृष्णलाई बधाई समेत दिनुभयो ।
सोही कार्यक्रममा नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले काँग्रेसको नीति, नेतृत्व, कार्यकर्ताहरुको समर्पण र योगदानका कारण आजपनि काँग्रेस बलियो भएको उल्लेख गर्दै राष्ट्रियता, लोकतन्त्र र नागरिक अधिकारका लागि काँग्रेसले विगतमा पु¥याएको योगदानलाई स्मरण गर्दैं कार्यकर्ताको भावनलाई सम्मान गरेर संगठन निर्माणमा लाग्न सबैलाई सुझाव दिनुभयो ।
सोही कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्व सांसद अर्जुनप्रसाद जोशीले कम्युनिष्टहरुसँगको लडाईभन्दा काँग्रेसभित्रको अन्तरघात पार्टीका लागि खतरनाक भएको वताउँदै पार्टीभित्र कडा अनुशासनको आवस्यकता रहेको दावी गर्नुभयो । नेता जोशीले विगतको आम निर्वाचनमा पनि आफूले चुनाव लड्न नचाहँदा पनि आफू पार्टीको निर्देशनमा चुनाव लडेको वताउँदै अबको निर्वाचनमा पार्टीले जसलाई टिकट दिएपनि आफू त्यसको प्रचार संयोजक भएर पार्टीलाई जिताउने प्रतिवद्धता व्यक्त गर्नुभयो । ‘म चुनाव लड्दिन तर पर्वत जिल्लाका सात स्थानीय तहमा पाँचवटा तह र तीनवटा संसदमध्य दुईवटालाई जिताउन सकिनभने मलाई साधारण सदस्यताबाट निलम्बन गरिदिए हुन्छ ।’–नेता जोशीले चुनौती दिनुभयो ।
नेपाली काँग्रेस जलजलाका सभापति चन्द्रबहादुर जिसीको सभापतित्वमा भएको उक्त कार्यक्रममा नेपाली काँग्रेस पर्वतका पार्टी सभापति खिमप्रसाद भुसाल, पूर्व सभापति नवराज गुरुङ, महासमिति सदस्य भवानीशंकर पौडेल, मोहनबहादुर मल्लका माइला छोरा प्रकाश मल्ल र नेपाली काँग्रेस जलजलाका नेता यम शर्मा पौडेलले लगायतले बोल्नुभएको थियो । कार्यक्रममा स्वागत मन्तव्य नेपाली काँग्रेस पर्वतका कोषाध्यक्ष तथा जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल रामकृष्णले गर्नुभएको थियोभने कार्यक्रमको संचालन जलजलाका सचिव नविन जिसी र चित्रराज रेग्मीले गर्नुभएको थियो । स्व. मोहनबहादुर मल्लको परिवारले भवन निर्माणका लागि ९० लाख रुपैयाँ बराबरको जग्गा निशुल्क प्रदान गरेको छ । जलजला गाउँपालिका वडा नम्बर ४ मोहनचोकमा २०१५ सालको आम निर्वाचनका नेपाली काँग्रेसबाट उम्मेदवार भएका मोहनबहादुर मल्लको परिवारले उक्त जग्गा प्रदान गरेका हुन ।
मोहनबहादुर मल्लका छोराहरु प्रतापबहादुर, प्रकाशबहादुर, दिपकबहादुर र दिप मल्ले झण्डै १० आनाबढी जग्गा निशुल्क प्रदान गरेका हुन । प्राप्त जग्गामा मोहनबहादुर मल्ल स्मृति भवन निर्माण गर्ने र उक्त भवन जलजला गाउँ समितिको स्वामित्वमा रहने नेपाली काँग्रेस पर्वतका कोषाध्यक्ष एवम् जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्लले जानकारी दिए । उनका अनुसार सडकसँगै जोडिएको जग्गाको मोहडा ३० हात रहेको छ । उक्त ठाउँमा प्रति हात तीन लाख रुपैयाँमा जग्गा किनबेच हुने गरेको छ ।
जग्गा प्राप्तीका लागि मल्लले पहल गर्दै आएका थिए । मल्लले शिलन्यास भएको भवन निर्माण तत्काल थाल्ने पनि जानकारी दिए । देउवाले लाखौ मुल्य बराबरको जग्गा पार्टीका निम्ति समर्पित गरेकोमा मोहनबहादुर मल्लको परिवारलाई समेत धन्यबाद दिएका थिए ।