‘द क्लिफ’ लगातार चार वर्षदेखि सबैभन्दा बढी कर तिर्ने उत्कृष्ट करदाता

पर्वत/साहसिक पर्यटनको गन्तव्य बनेको ‘द क्लिफ’ लगातार चार वर्षदेखि बागलुङमा सबैभन्दा बढी कर तिर्ने करदाता बनेको छ। आन्तरिक राजस्व कार्यालय बागलुङले आर्थिक वर्ष २०७८/७९ देखि २०८१/८२ सम्म लगातार चार वर्ष द क्लिफलाई उत्कृष्ट करदाताका रूपमा सम्मान गरेको हो।

आर्थिक वर्ष २०८१/८२ मा द क्लिफले २८ लाख १२ हजार ३ सय ४३ रुपैयाँ कर तिरेको छ। यसअघि आर्थिक वर्ष २०७७/७८, २०७९/८० र २०८०/८१ मा पनि सबैभन्दा बढी कर तिरेर द क्लिफ उत्कृष्ट करदाता बनेको थियो।उत्कृष्ट करदाताका रूपमा सम्मानित द क्लिफका कार्यकारी निर्देशक राजनकुमार जोशीले कम्पनी नाफा कमाउने संस्थाका रूपमा मात्र नभई साहसिक पर्यटनको गन्तव्यका रूपमा समेत स्थापित भएको बताए। ‘हामी सधैं उत्कृष्ट करदाता बन्न चाहन्छौं,’ उनले भने, ‘पारदर्शी संस्था बनेर राज्यलाई योगदान गर्ने र व्यवसाय पनि प्रवर्द्धन गर्न चाहन्छौं।’ द क्लिफले झन्डै ५० करोड रुपैयाँ लगानी गरेको छ भने एक सयजनाभन्दा बढीलाई रोजगारी दिएको छ।

बन्जी, स्विङ, मेगा ट्रोललगायत दर्जनभन्दा बढी साहसिक खेलमार्फत पर्यटक आकर्षित गर्न द क्लिफले योगदान पुर्‍याएको छ। पछिल्लो समय युवा पुस्ता साहसिक खेलप्रति आकर्षित हुँदै गएको छ। मुस्ताङ जाने विदेशी पर्यटकका लागि पनि यो आकर्षक गन्तव्य बन्दै गएको छ। २०७७ सालमा स्थापना भई सञ्चालनमा आएको द क्लिफ कोरोना महामारीका कारण २०७८ सालदेखि मात्रै नियमित सञ्चालनमा आएको हो।आर्थिक वर्ष २०८१/८२ मा ग्रिन डेभलपमेन्ट बैंक र घलेम्दी हाइड्रोपावर पनि उत्कृष्ट करदाताका रूपमा सम्मानित भएका छन्।

बागलुङमै मुख्य कार्यालय रहेको ग्रिन डेभलपमेन्ट बैंकले २ करोड ६५ लाख ८१ हजार रुपैयाँ कर तिरेको आन्तरिक राजस्व कार्यालयका प्रमुख कर अधिकृत कपिल सिलवालले जानकारी दिए। घलेम्दी हाइड्रोले ७८ लाख ९४ हजार रुपैयाँ कर तिरेर उत्कृष्टताको प्रमाणपत्र पाएको छ।बागलुङ, पर्वत, म्याग्दी र मुस्ताङ कार्यक्षेत्र रहेको आन्तरिक राजस्व कार्यालयको तथ्यांकअनुसार चार जिल्लामा ७० हजार ३ सय ११ जनाले व्यक्तिगत स्थायी लेखा नम्बर (पान) लिएका छन्।

व्यावसायिक पान नम्बर लिने ३१ हजार ८ सय १५ जना छन्। मूल्य अभिवृद्धि करमा २ हजार ४ सय १५ र अन्तःशुल्क प्रमाणपत्र लिने २ हजार १ सय २६ जना छन्। त्यस्तै, भुक्तानीको स्रोतमा कर कट्टी गर्ने प्रयोजनका लागि मात्रै पान नम्बर लिने १ हजार ४ सय ३२ जना छन्। करदाताबाट संकलित राजस्वका आधारमा उत्कृष्ट करदाता छनोट गरी हरेक वर्ष सम्मान गर्ने गरिएको कार्यालयले जनाएको छ।