पर्वत/नेपाली काँग्रेस पर्वतले पार्टीलाई सूचना तथा प्रविधिसँग जोड्दै आफ्ना विचार, नीति र कार्यक्रम डिजिटल माध्यमबाट जनतामाझ पुर्याउने अभियान थालेको छ । अभियानअन्तर्गत जिल्लाका तीन स्थानीय तहका पार्टी कार्यकर्ता तथा नेताहरूसँग छलफल र अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको छ । नेपाली काँग्रेस पर्वतले शुक्रबार कुश्मा र फलेवास नगरपालिकामा डिजिटल प्रतिनिधित्वसम्बन्धी परामर्श तथा अन्तरक्रिया कार्यक्रम गरेको छ ।
कुश्मा नगर कार्यसमितिद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली काँग्रेसकी केन्द्रीय सदस्य रेनुका काउचाले डिजिटल माध्यमबाट पार्टीका विचार र गतिविधि जनतामाझ पुर्याउन सबै कार्यकर्ता सक्रिय हुनुपर्ने बताउनुभयो । उहाँले सामाजिक सञ्जालमार्फत पार्टीविरुद्ध फैलाइने भ्रमपूर्ण सूचनाको तथ्यमा आधारित भएर खण्डन गर्नुपर्नेमा जोड दिनुभयो । ‘पार्टीले पहिलोपटक डिजिटल माध्यमबाट आफ्ना विचार तथा कार्यक्रम जनतासम्म पुर्याउने प्रयास गरेको छ । हामीले आफ्नो इतिहास नयाँ पुस्तालाई बुझाउनुपर्छ । पार्टीभित्रका कमी–कमजोरी सुधार गर्दै जनताको हितमा काम गर्नुपर्छ,’ उहाँले भन्नुभयो ।
नेपाली काँग्रेस पर्वतका सभापति युवराज जोशीले डिजिटल प्रतिनिधित्वसम्बन्धी परामर्श भेलाले पार्टीको संगठन सुदृढ बनाउन सहयोग पुग्ने बताउनुभयो । उहाँले पार्टीका विचार र गतिविधिलाई सामाजिक सञ्जालमार्फत प्रभावकारी रूपमा प्रस्तुत गर्नुपर्ने धारणा राख्नुभयो ।
सभापति जोशीले पार्टीको जिम्मेवारीमा रहेर पार्टीकै विरुद्ध सामाजिक सञ्जालमा अभिव्यक्ति दिने तथा विपक्षीको मनोबल बढाउने गतिविधि गर्नेलाई कारबाही गरिने चेतावनी दिनुभयो । पार्टीका गतिविधिप्रति असहमति भए पार्टी छाड्न सकिने तर पार्टीविरुद्ध सार्वजनिक रूपमा अभिव्यक्ति दिन नहुने उहाँको भनाइ थियो । पार्टी संगठनभन्दा बाहिर रहेर गतिविधि गरिरहेका नेता तथा कार्यकर्तालाई पनि समेटेर अघि बढ्नुपर्नेमा जोड दिँदै उहाँले काँग्रेसभित्रको आन्तरिक विवादले समग्र देशको लोकतान्त्रिक अभ्यासमा असर पार्न सक्ने बताउनुभयो ।
कार्यक्रममा कुश्मा नगरकार्यसमितिका सभापति सुरेन्द्र केसीले स्थानीय तहको चुनाव नजिकिँदै आइरहेकोले अब पार्टी पूर्ण रूपमा चुनाव लक्षित भएर अघि बढ्नुपर्ने वताउनुभयो । नगर सभापति केसीले कुश्मा नगरपालिकाभित्रका १४ वटै वडामा काँग्रेसका कार्यकर्ताले चुनाव हारेको अनुभव नगर्न र केही समस्या भए आफूलाई राख्न आह्वान गर्नुभयो ।
कार्यक्रममा जिल्ला पदाधिकारी, महाधिवेशन प्रतिनिधि, पालिका कार्यसमितिका पदाधिकारी तथा वडा सभापतिहरूको सहभागिता थियो । कुश्मामा भएको कार्यक्रम नगर सभापति सुरेन्द्र केसीको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो भने कार्यक्रमको संचालन सचिव गोविन्द रेग्मीले गर्नुभएको थियो ।
त्यसैगरि फलेवासमा भएको कार्यक्रम नगर सभापति ओम गौंडेलको सभापतित्वमा सम्पन्न भएको थियो । शनिबार जलजला गाउँपालिकामा कार्यक्रम आयोजना गरिने जिल्ला सचिव गुप्तनिधि शर्माले जानकारी दिनुभयो ।







