माघ,२२–पर्वत/नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्व मन्त्री बीरबहादुर बलायरले नेकपा सरकारले काँग्रेसलाई जिस्काएर आफ्नो म्याद घटाएको वताउनु भएको छ । सरकारको पछिल्ला क्रियाकलापकाविरुद्धमा काँग्रेसले देशव्यापी आयोजना गरेको विरोधसभालाई सम्बोधन गर्न सोमवार पर्वत आउनु भएका बलायरले नेकपा सरकारले देशमा हिंसा, हत्या, बलत्कार र भष्ट्राचारलाई चरम शिखरमा पु¥याएर जनतालाई सास्ती दिएकोले आफूहरु सडक आन्दोलनमा निस्कन बाध्य भएको वताउनु भएको थियो ।
केन्द्रीय सदस्य बलायरले नेकपा सरकारले दुई तिहाईको दम्भ देखाएर सदनमा समेत प्रतिपक्षलाई पेल्न खोजेकोले सडक सङ्घर्षको बाटो अख्तियार गर्नुपरेको वताउनु भयो । उहाँले सदनमा मार्शल लगाउने सरकारलाई सडकमा समेत मार्शल लगाएर जनताको आन्दोलनलाई रोक्न चेतावनी पनि दिनुभयो । ‘सदनमा त तिमीहरुको बहुमत छ त्यसैले प्रतिपक्षलाई मार्शल लगाएरै निषेध गर्न खोज्यौ, तर अब काँग्रेस सडकमा आएको छ, सक्छौभने सडकमा पनि मार्शल लगाउ ।’– काँग्रेस नेता बलायरले भन्नुभयो ।
पूर्व मन्त्री समेत रहेका काँग्रेसका प्रभावशाली नेता बलायरले प्रचण्ड घर छोडेर हिँडेको मुसाफिर भएको र अहिले केपी ओलीकोमा डेरामा शरण लिएर बसेको व्यङ्ग्य गर्दै प्रचण्डसँग हिजोकोजस्तो कार्यदिशा र सामथ्र्य नभएको दावी गर्नुभयो । ‘प्रचण्ड जतिबेला सिंगो माओवादीको नेता थिए उनीसँग वैद्यको विचार र दर्शन थियो, बाबुरामको कार्यदिशा थियो र विप्लवको सामथ्र्य थियो र मात्रै उनी बलवान थिए, तर अब तिनैजना वैद्य, बाबुराम र विप्लवले छोडेको प्रचण्ड बेवारिसे मुसाफिर जस्तै हुन् त्यसैले ओलीको शरणमा पुगेका छन् ।’– नेता बलायरले भन्नुभयो ।
नेता बलायरले निर्वाचनताका जनतामा भ्रमको खेती गरेर केपी ओलीले हासिल गरेको जनमतलाई जनताले बाटैमा फिर्ता माग्ने दिन आइसकेको उल्लेख गर्दै जनताको जनमतलाई सम्मान गर्नेहोभने विधिसम्मत ढंगले सरकार संचालन गर्न सुझाव दिनुभयो । ‘संविधानसम्मत चल्नुहुन्छ र जनतालाई न्याय दिनुहुन्छ पाँचबर्ष सरकार चलाउनोस हाम्रो आपत्ति छैन तर भ्रष्ट्राचार र अत्याचार सहेर जनताहरु तपाईंको रमिता हेरेर बस्दैनन्, जनताहरुले विद्रोह गर्छन् ।’– बलायरले भन्नुभयो ।
नेता बलायरले पर्वतसहित बागलुङ र म्याग्दीमा पुगेर सरकारको ज्यादतीको पर्दाफास गर्नुभएको थियोभने काँग्रेस कार्यकर्ताहरुलाई सांगठनिक कार्यदिशा र हौसला दिएर फर्कनुभएको थियो । बलायरको सम्बोधनपछि गाउँ–गाउँबाट सदरमुकाम आएका काँग्रेस कार्यकर्ताहरु जोश र उत्साह बोकेर फर्केका देखिन्थे । पर्वतमा भएको विरोधसभामा नेपाली काँग्रेस पर्वतका पार्टी सभापति खिमप्रसाद भुसाल, पूर्व सभापति नबराज गुरुङ्ग, गण्डकी प्रदेशसभाका सदस्य ललितकला गुरुङ्ग, प्रदेश सभा सदस्यका उम्मेदवार राजेन्द्रप्रसाद तिवारी, नेपाली काँग्रेस पर्वतका कोषाध्यक्ष रामकृष्ण मल्ल लगायतले बोल्नुभएको थियो ।






