पर्वत/कालीगण्डकी नदी स्थित कुश्मा नगरपालिका वडा नं. १ अन्तर्गत सहश्रधारामा ५ दिन अघि फेला परेको बेवारिसे शव अस्पतालमा अलपत्र अवस्थामा रहेको छ । गत बैशाख ४ गते नदीमा भेटिएको शवको पहिचान हुन नसक्दा ५ दिन देखि अस्पतालमा अलपत्र अवस्थामा रहेको हो ।
जिल्ला प्रहरी कार्यालय पर्वतका अनुसार अन्दाजी ४५ वर्षका पुरुषको शव भेटिएको थियो । प्रहरी निरीक्षक राजनकुमार पटेलले हाल सम्म शवको सनाखत हुन नसकेको बताउनुभयो । उक्त सव करिव दुई साता अघि नदीमा डुबेर मृत्यु भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको थियो ।
नदीमा ढुंगाको कापमा अड्किएको अवस्थामा भेटिएको उक्त शवलाई नेपाल प्रहरी र शसस्त्र प्रहरी बल चण्डिका गणको टोलीले शवलाई नदीबाट बाहिर निकालेका थिए । शवको पहिचानका लागि आवश्यक सूचना संकलन तथा अन्य निकायहरुमा सुचना आदान–प्रदान भइरहेको प्रहरीले जनाएको छ ।






