नेपाल आयल निगमले फेरि बढायो पेट्रोलियम पदार्थको मूल्य: उपभोक्ता मारमा

पर्वत/नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ। निगमले शुक्रबार बिहान १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल, मट्टीतेल, खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्य बढाएको हो।

निगम सञ्चालक समितिको बैठकले प्रतिलिटर पेट्रोलमा १७ रुपैयाँ, डिजेल र मट्टीतेलमा २५/२५ रुपैयाँ प्रतिलिटर मूल्यवृद्धि गरेको हो। यस्तै, खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर १०० रुपैयाँले बढाइएको छ भने हवाई इन्धन (आन्तरिक) मा प्रतिलिटर ६ रुपैयाँ वृद्धि गरिएको छ।

नयाँ मूल्यसूची अनुसार अब काठमाडौँ उपत्यका (तेस्रो वर्ग) मा पेट्रोल २१९ रुपैयाँ, डिजेल र मट्टीतेल २०७ रुपैयाँ, एलपी ग्यास प्रतिसिलिन्डर २०१० रुपैयाँ पुगेको छ।

हवाई इन्धन (आन्तरिक) २५७ रुपैयाँ प्रतिलिटर कायम भएको छ। निगमका अनुसार विगत केही महिनादेखि मध्यपूर्वमा जारी युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य निरन्तर बढिरहेकाले नेपालमा पनि मूल्य समायोजन गर्नुपरेको हो।

सरकारले भन्सार महसुल र पूर्वाधार विकास करमा ५० प्रतिशत छुट दिँदा पनि निगमको घाटा न्यूनीकरण नभएपछि मूल्य बढाउनुपरेको विज्ञप्तिमा उल्लेख छ। मूल्यवृद्धिपछि पनि निगमलाई पाक्षिक करिब १० अर्ब २१ करोड रुपैयाँ घाटा हुने निगमको दाबी छ।

अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्यमा गिरावट आएको बेला निगमले मूल्यवृद्धि गरेपछि त्यसको कारणबारे खोजी हुन थालेको छ।