पर्वत/आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा सदस्य बन्नका लागि नेपाली काँग्रेस पर्वतको तर्फबाट नेता अर्जुनप्रसाद जोशीले मनोनयन दर्ता गराए । मुख्य निर्वाचन अधिकृतको कार्यालय अर्थात् पर्वत जिल्ला अदालतको बाहिर सडकमा केही पर रहेको चौतारीमा कोण सभा आयोजना भयो ।
कोण सभामा उम्मेदवार तथा नेपाली काँग्रेसका केन्द्रीय सदस्य अर्जुनप्रसाद जोशीले मनोनयनका क्रममा आफूसँगै गएका नेता तथा कार्यकर्ताहरूलाई सम्बोधन गरिरहेका थिए । त्यही बिचमा ‘खै ? अर्जुन दाइ खै त ?’ भन्दै पुगे नेकपा (एमाले) का केन्द्रीय सदस्य पदम गिरी । एउटा दलको उम्मेदवारले मनोनयन दर्ता गरेपछि आफ्ना कार्यकर्ताहरूलाई सम्बोधन गरिरहेको बेलामा अर्को राजनीतिक दलका नेता पुग्दा ‘कतै राजनीतिक प्रतिशोधले नराम्रो पो हुने हो कि ?’ भन्ने लागेको थियो । त्यसमा पनि नेपाली काँग्रेसको दोस्रो विशेष महाधिवेशनको कटाक्ष गर्दै प्रतिक्रियाहरू दिइरहेका एमाले अध्यक्ष केपी शर्मा ओलीका विश्वास पात्र पदम गिरी । अनि सम्बोधन गरिरहेका नेता जोशी भने सोही अधिवेशनबाट गगन–विश्वप्रकाशको काँग्रेस रूपान्तरणको अभियानमा साथ दिएका र केन्द्रीय सदस्य बनेका व्यक्ति ।
काँग्रेसका कार्यकर्ताहरूको बिचमा रहेका अर्जुनप्रसाद जोशीलाई खोज्दै एमालेका नेता तथा कार्यकर्ताहरू पुग्दा दुवै पक्षका नेता तथा कार्यकर्ताहरू भने केही बेर अलमलमा परे। जोशी पर्वतको राजनीतिका ‘हेभी वेट’ नेता हुन् । २०५६, २०६४ र २०७० सालका तीनवटा निर्वाचनहरूमा लगातार जित्दै ‘ह्याट्रिक’ गरेका जोशीले २०७४ र २०७९ को निर्वाचनमा भने पराजय भोग्नुप¥यो । पछिल्ला दुईवटै निर्वाचनहरूमा काँग्रेसका तर्फबाट जोशी नै उम्मेदवार थिए भने एमालेका तर्फबाट गिरी नै ।
राजनीतिक रूपमा कडा प्रतिस्पर्धीको रूपमा उदाएका जिल्लाका प्रभावशाली नेताहरू त्यो पनि निर्वाचनको मुखैमा एकै ठाउँमा भेटिँदा कार्यकर्ताको मन त चिसो भइहाल्ने भयो । तर मङ्गलवार यी दुई नेताले देखाएको राजनीतिक संस्कारले पनि केही बेरमा नै दुवै पार्टीका नेता तथा कार्यकर्ताहरूमा मुस्कान सञ्चार भयो। जोशी र गिरी लगातार तेस्रो पटक भिड्न लाग्दा तिमिल्सिना भने पहिलो पटक संसदीय यात्राको प्रतिस्पर्धामा आएका हुन् ।
त्यति मात्रै होइन मुख्य निर्वाचन अधिकृतको कार्यालय नजिकै नेपाल कम्युनिस्ट पार्टीबाट पर्वतका उम्मेदवार बनेका मनहरी तिमिल्सिना र जोशीबिच पनि जम्काभेट भयो । उनीहरूले एक अर्कालाई अङ्कमाल गर्दै जीतका लागि शुभकामना दिए । उनीहरू बिचको यो संस्कारले पनि पर्वतको चुनावी रौनक प्रतिस्पर्धी तर सौहार्दपूर्ण रूपमा सम्पन्न हुँदै छ भन्ने सङ्केत दिएको भन्दै समर्थकहरूले पनि खुसी व्यक्त गरे ।
चुनाव एक प्रक्रिया रहेको र लोकतान्त्रिक शासन व्यवस्थाका लागि लड्नै पर्ने भए पनि व्यक्तिगत सम्बन्ध र संवाद भने नेताहरूबिच हुनुपर्ने काँग्रेसका उम्मेदवार जोशीले बताए । एक ‘सिट’ का लागि हुने निर्वाचनमा सबै उम्मेदवारहरूले नजित्ने भएकाले जित्ने जो भए पनि उसको जीत पनि मनाउन सक्नुपर्ने उनको भनाइ छ । ‘चुनाव भनेकै प्रतिस्पर्धा हो । तर प्रतिस्पर्धाको नाममा संस्कार, समाज र सम्बन्धमा दरार आउनै हुँदैन । चुनाव जितेपछि पनि त यही समाजको लागि काम गर्ने हो,’ उनले भने, ‘मनोनयनकै दिनबाट सौहार्दपूर्ण वातावरण बन्दै गएको छ । एमाले, नेपाली कम्युनिस्ट, रास्वपा, अन्य दल वा स्वतन्त्र उम्मेदवार जो भए पनि जित्ने एक जनाले हो । तर, समाजलाई नेतृत्व गर्ने सबैले हो ।’
एमालेका उम्मेदवार गिरीले नयाँ राजनीतिक संस्कारको विकास गर्नका लागि पनि नेतृत्व गर्नेहरूमा हार्दिकता हुनुपर्ने बताए । चुनावलाई प्रतिस्पर्धाको पाटोमा मात्रै नहेरी आफूले नागरिकको मनमा छाडेको छापको परीक्षण पनि भएको बताउँछन् । कसलाई विजयी गराउने र कसलाई पराजित गर्ने भन्ने कुरा नागरिकमा नै निहित भएकोले राजनीतिक नेतृत्वहरूले असल शासन र संस्कृतिको विकास गर्नुपर्ने उनको भनाइ छ ।







