पर्वत/वेथिति र भ्रष्टाचारको विरुद्धमा आवाज उठाउने र सुशासन स्थापना गर्ने उद्देश्यले गठन भएको पर्वत युवा सञ्जालले आसन्न निर्वाचनलाई लक्षित गर्दै जिल्लाका ६१ वटै वडामा वडा–स्तरीय सम्पर्क कार्यालय स्थापना गर्ने निर्णय गरेको छ। युवालाई निर्वाचन प्रक्रियामा सक्रिय र सचेत बनाउने उद्देश्यले शाखा कार्यालय विस्तार गर्न थालिएको सञ्जालले जनाएको छ।
कुश्मा नगरपालिका–६ मा मुख्य कार्यालय रहेको सञ्जालले हालै सम्पन्न शान्तिपूर्ण र उत्साहजनक मनोनयन प्रक्रियालाई स्वागतयोग्य कदमका रूपमा मूल्यांकन गरेको छ। साथै, दिगो लोकतान्त्रिक स्थायित्वका लागि नागरिकलाई संयमित र शान्तिपूर्ण सहभागिता जनाउन अपिल गरिएको छ।
अध्यक्ष समुन्द्र गिरी र सचिव मदन पौडेलद्वारा जारी वक्तव्यमा निर्वाचन स्वच्छ, निष्पक्ष र धाँधलीरहित बनाउन उम्मेदवार, राजनीतिक दल र सरोकारवाला निकायलाई गम्भीर बन्न आग्रह गरिएको छ। मतदातालाई प्रलोभन देखाउने गतिविधि रोक्नुपर्नेमा पनि जोड दिइएको छ। सञ्जालले शाखा कार्यालय खोल्ने विषयमा प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद पौडेललाई पत्र बुझाएर जानकारी गराएको जनाएको छ।






