प्रतिनिधि सभा राष्ट्रिय सभाको निर्वाचनका लागि पर्वत काँग्रेसमा ३५ जनाले दिए आवेदन

पर्वत/सरकारले तोकेको फागुन २१ को प्रतिनिधि सभा निर्वाचनमा उमेदवार बन्नका लागि पर्वत जिल्ला प्रतिनिधि सभामा नेपाली कांग्रेसको तर्फबाट २२ जनाले दाबी गरेका छन् । कांग्रेस पाटी कार्यालयमा आज सम्पन्न उमेदवारी दावीका लागि २२ जनाकाले आवेदन दिएको नेपाली काँग्रेस पर्वतका पार्टी सचिव गुप्तनिधि शर्माले जानकारी दिनुभएको छ । प्रत्यक्ष तर्फ १ सिटका लागि हुने निर्वाचनमा पर्वत कांग्रेसको तर्फबाट २२ जनाले आकाक्षा देखाएका हुन् ।

सहमती नभएको अवस्थामा दावी गर्ने सवै जनाको नाम केन्द्रिय कमिटिमा पठाउने तयारी रहेको बुझिएको छ । प्रतिनिधि सभामा निर्वाचन लड्नका लागि नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं पूर्व सांसद अर्जुनप्रसाद जोशीले पनि आकाक्षा ब्यक्त गर्नुभएको छ ।  जोशीसंगै प्रतिनिधि सभामा यस अघि २०७४ सालको निर्वाचनमा प्रदेश सभामा पराजित हुनुभएका नवराज गुरुङले समेत दाबी पेश गर्नुभएको छ ।

२०७९ सालको प्रदेश सभा निर्वाचनमा पराजित ऋषीकेश तिवारीले समेत प्रतिनिधि सभामा प्रत्यक्ष तर्फ दावी पेश गर्नुभएको छ । प्रतिनिधि सभामा नेपाल तरुण दलका केन्द्रिय अध्यक्ष विद्धान गुरुङ, जलजला गाउँपालिकाका पूर्व अध्यक्ष एवं नेपाली काँग्रेस गण्डकी प्रदेश सदस्य यामबहादुर मल्ल (रामकृष्ण),   कुश्मा नगरपालिकाका पूर्व नगर उपप्रमुख सिता काप्ले लामिछाने र २०७४ सालकै निर्वाचनमा प्रदेश सभा तर्फ पराजीत हुनुभएका राजेन्द्रप्रसाद तिवारीले समेत दाबी पेश गर्नुभएको छ ।

त्यसैगरि प्रतिनिधिसभामै प्रत्यक्ष तर्फ नेपाली काँग्रेस गण्डकी प्रदेश सदस्य तथा महिला नेतृ मिना केसी, महासमिति सदस्य तथा महिला नेतृ राधाकुमारी कुँवर क्षेत्री, तथा पैयू गाउँपालिकाका पूर्व अध्यक्ष खगेन्द्र प्रसाद तिवारी र जिल्ला कार्य समिति सदस्य रामबहादुर प्रसाई समेतको दावी रहेको छ ।

आज जिल्ला कार्यालयमा भएको उमेदवारीको आकांक्षा संकलनमा कांग्रेस क्षेत्रीय कार्य समितिका सचिव तथा पत्रकार महासंघका केन्द्रिय सदस्य छविलाल तिवारी, महाधिवेशन प्रतिनिधि मुना भुषाल, डा. केदार सुवेदी पूर्व सचिव विश्व प्रसाई, कांग्रेस नेताहरु विल्लब हमाल, कुलप्रसाद आचार्य, जगत शकर पौडेल, राम शर्मा पौडेल र भाष्कर शर्मा पौडेलले समेत दाबी प्रस्तुत गर्नुभएको छ ।

१ जना उमेदवारका लागि २१ जनाको आकांक्षा देखिए पछि कांग्रेस नेताहरु आन्तरिक छलफलमा जुटेका छन् । यसैगरी प्रतिनिधि सभा समानुपातिक तर्फ १० जना र आगामी माघमा हुने राष्ट्रिय सभा सदस्य निर्वाचनमा ४ जनाको आवेदन परेको नेपाली काँग्रेस पर्वतले जनाएको छ ।