नेपाली काँग्रेस काठमाडौं क्षेत्र नं ९ को उम्मेदवार सिफारिस: महर्जन र गौतमको नाम चर्चामा

काठमाडौं / नेपाली काँग्रेस काठमाडौं क्षेत्र न. ९ ले फागुन २१ गते हुने आम निर्वाचनका लागि राष्ट्रिय सभा निर्वाचन, प्रत्यक्ष संघीय निर्वाचन र संघीय समानुपातिक निर्वाचन प्रणालीका लागि १५ जनाको नाम जिल्लामा पठाएको छ ।

जसअनुसार युवा पुस्ताका क्षेत्रीय सभापति जयकृष्ण महर्जन, महासमिति सदस्य रस्मिला मल्ल, पूर्व क्षेत्रीय सभापति तथा महासमिति सदस्य धर्मराज गौतम, केन्द्रीय सदस्य नानु बास्तोला, महाअधिवेशन प्रतिनिधि श्यामकृष्ण खड्का र क्षेत्रीय प्रतिनिधि राजन खत्रीलाई प्रत्यक्ष निर्वाचन प्रणालीका लागि नाम सिफारिस गरेको छ । यसभन्दा अगाडिको आम निर्वाचनमा प्रदेश सभा (क)बाट केन्द्रीय सदस्य नानु बास्तोला र प्रदेश (ख)बाट महाधिवेशन प्रतिनिधि श्यामकृष्ण खड्का उम्मेदवारी बनिसकेका अनुहार हुन् ।

काठमाडौं क्षेत्र नं. ९ को सिफारिसहरुमध्ये विद्यार्थी राजनीतिबाट आएका यी दुईयुवा महर्जन र गौतमको नाम निकै चर्चामा रहेको पाइन्छ । महर्जन युवा पुस्ताका नेता तथा २ कार्यकालका क्षेत्रीय सभापति हुन् भने गौतम २०४९ सालमै गाविस निर्वाचनमा एमालेको उम्मेदवारलाई ५०० का विरुद्ध १५०० मत ल्याएर चर्चामा आएका चर्चित नेता हुन् ।

संविधान सभा सदस्य ९ नं. क्षेत्रबाट दुईपटक संघीय संसदमा निर्वाचित पूर्वसांसद ध्यानगोेविन्द रन्जित र प्रतिबन्धित अवस्थाका पश्चिम भेगीय कमाण्डर तथा २०५४ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवार दामोदर गौतम राष्ट्रिय सभा सदस्य उम्मेदवारका लागि सिफारिस पठाइएको छ ।
त्यसैगरी समानुपातिक निर्वाचन प्रणालीतर्फ नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य एवं महासमिति सदस्य किरण गिरी, काठमाडौं कांगे्रसका पूर्व जिल्ला उपसभापति एवं बौद्धिक व्यक्तित्व महाधिवेशन प्रतिनिधि गौरीप्रसाद दवाडी, महासमिति सदस्यहरु अधिवक्ता सुधा रिजाल, डा. अमिता प्रधान,  दिलमाया अधिकारी, गोमा गुरुङ,  र कल्याणी खड्कालाई समानुपातिक निर्वाचन प्रणालीको बन्द सूचीमा नाम समावेश गर्न क्षेत्रले सिफारिस गरिएको  बताइएकाे छ ।

नेपाली कांग्रेसको केन्द्रीय समितिले पठाएको परिपत्रअनुसार प्रत्येक निर्वाचन क्षेत्रबाट ३ जनाको नाम सिफारिस पठाउनु भनिएता पनि अधिकांश केन्द्रीय सदस्य, पदाधिकारी रहेका क्षेत्रहरुमा दर्जनौं सफारिस आइरहेको छन् । जसअनुसार केन्द्रीय सदस्य रहेको क्षेत्र नं. १ बर्दियाका कांग्रेस केन्द्रीय सदस्य सञ्जय गौतम रहेको क्षेत्रबाट १४ जना र केन्द्रीय कोषाध्यक्ष उमेश श्रेष्ठ भएको क्षेत्र नं. २ चितवनबाट  २८ जनाको नाम सिफारिस आएको छ ।