भित्राउने बेलाको धान हावा र पानीले सोत्तर परेपछि किसानलाई तनाव

पर्वत/ भित्र्याउने वेलाको धान खेतीलाई सोमवारको हावा र मङ्गलवारको वर्षाले प्रभावित पारेपछि पर्वतका कृषक चिन्तामा परेका छन्। जिल्लाका अधिकांश ठाउँमा लगाइएको धान बाली करिब पाक्ने अवस्थामा पुगेको छ। कतिपय ठाउँमा धान काट्ने वेला भए पनि तिहारपछि काट्ने गरी कृषकहरू चाडबाड मनाउन व्यस्त थिए।

मङ्गलवारको वर्षाले कतिपय ठाउँमा काटेर सुकाइएको धान भिजाउने, निहिनमा नै धान झार्ने, पराल भिज्ने भएको छ। नकाटेर गरामा ठाडो अवस्थामा रहेको धानमा वर्षाले खासै क्षति नगरे पनि सोमबारको हावाले ढलाएर क्षति भएको छ।

फलेवास नगरपालिका–४ मुडिकुवाका कृषक रघुनाथ गौडेलले आफूले लगाएको हाइब्रिड जातको धान नढले पनि स्थानीय जातका धान भने ढलेको बताए। हाइब्रिड धान खासै अग्लो नहुने भएकाले क्षति कम भएको तर अग्लो पराल भएका स्थानीय जातका धान भने खेतमै लडेको उनको भनाइ छ।

‘सातबीसे, बाह्रबिसे, नौबिसे, सेरा लगायतका फाँटमा धान ढलेको छ। हाइब्रिड जातको छोटो पराल भएको धान त खासै ढलेको छैन। लामो पराल भएको एक्ले, जेठ बुढो, गुडुरा जस्ता जातका धान खेतमै लडेका छन्’, उनले भने, ‘लगभग २० गतेभित्र काटिसक्ने धान हो। १० दिनअघि नै ढल्यो। कतिपय धान फूल खेल्ने बेलामा नै ढलिसकेको अवस्था छ। त्यो वेला त गेडामा चामल पसेको पनि हुँदैन। पराल पनि काम लाग्दैन। ढलेको धान पानी परेपछि त्यही पानीले कुहाउँछ।’

कृषि ज्ञान केन्द्र पर्वतकी सूचना अधिकारी तथा बाली संरक्षण अधिकृत सोविता सुवेदीले हाइब्रिड धान पाकिसकेकाले काटेको र खेतका गरामा नै भिजेको भनेर केही कृषकले जानकारी गराएको बताइन्। काटेर सुकाएका निहिन भिजाएको भन्दा हावाले ढलाएका सूचना बढी आएको र त्यसमा पनि स्थानीय जातका धानमा बढी क्षति भएको कृषकहरूले बताएको सुवेदीको भनाइ छ। नकाटेर खेतमै ठाडो रहेको धानमा भने वर्षाले खासै असर नपारेको तर पूरै पाकेको धान भने झर्न सक्ने उनको भनाइ छ। सुवेदीले मौसमको आगामी अवस्थाका बारेमा जानकारी लिएर मात्रै धान काट्नुपर्ने सुझाइन्।