भूकम्पले घरबासविहीन भएकाहरुलाई एकिकृत वस्ती निर्माण गरिँदै

पुष ८,पर्वत/भूकम्पपछि कोहि आफन्तको शरणमा बसेका छन् । कोहि गाउँनै छोडेर हिँडेका छन् । कोहि जोखिम मोलेर बसिरहेका छन् । जिल्लाको फलेवास नगरपालिका– ८ ठानामौलाको अर्चले गाउँ बस्ती माथिको पहिरो र तलवाट पनि पहिरो जाने समस्याले ग्रसित छ । भूकम्प पश्चात गाउँमा यस्तो विपत्ती निम्तिएको हो । ‘तल हेरेनी पहिरो, माथी हेरेनी पहिरो,’ स्थानीय संगीता विकले भनिन्,‘ अहिले बल्ल सुख पाउने आशा पलाएको छ ।’ वस्तीमा सबै दलित परिवार छन् । २० परिवार बसोबास गर्दै आएको यो बस्ती भूकम्प गएको तीन वर्ष पछि स्थानान्तरण गर्न थालिएको हो । भूकम्प पश्चात स्थलगत अवलोकनमा आएको संसदिय समितिले यो बस्ती स्थानान्तरण गर्न सिफारिस गरेको थियो । जिल्ला दैवि प्रकोप उद्धार समितिले समेत वस्ती स्थानान्तरणको पहल गरिरहेको थियो । भूगर्भविदहरुको टोलीले गतवर्ष अध्ययन गर्दा पनि यो वस्ती उच्च जोखिम रहेको औल्याएको थियो ।
जोखिममा रहेको बस्तीका परिवारलाई सोहि वडाको छतिवन टारीमा स्थानान्तरण गर्ने गरी एकिकृत बस्ती निर्माण शुरु गरिएको छ । राष्ट्रिय पूननिर्माण प्राधिकरणको सहयोगमा पीडितलाई एकिकृत बस्ती निर्माण गरि स्थानान्तरण गर्न लागिएको जिल्ला आयोजना कार्यान्वयन ईकाई पर्वतले जनाएको छ ।
राष्ट्रिय पूननिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन ईकाइका प्रमुख जगदीश शर्माका अनुसार एकिकृत बस्तीमा १ घरको ३ लाखका दरले ३६ लाख रुपैयाँ बजेट खर्च गरिँदै छ । जग्गा खरिदमा २४ लाख, खानेपानी, विजुली र पूर्वाधार निर्माणका लागि ४८ लाख रुपैयाँ खर्च लाग्ने शर्माले जानकारी दिनुभयो । फलेवास नगरपालिकाले ५ लाख खर्चिएर सडक बनाईदिएको छ । ‘केहिले पहिल्यै अस्थाई टहरा बनाएर बसिसकेका छन्,’ आयोजना प्रमुख शर्माले भने,‘ सडक, पानी र विजुलीको व्यवस्था गरेपछि अस्थाई टहरामा उनीहरु स्थानान्तरण हुनेछन् ।’ चालु वर्षको बैशाखमै काम सक्ने लक्ष्य रहेको शर्माले बताए ।‘जतिसक्दो चाँडो काम सक्ने प्रयास गर्नेछौँ,’ शर्माले भने,‘ पीडित परिवारलाई लामो समय कुराउने पक्षमा छैनौँ ।’
बस्ती स्थानान्तरण भएपनि यहाँका बालबालिका पढ्दै आएको शिशुकल्याण प्राबि भने स्थानन्तरणको पहल भएको छैन् । भूगर्वविदहरुले उक्त विद्यालय पनि जोखिममा रहेको औल्याएका थिए । शिक्षाले निर्णय नगरिसकेकाले विद्यालय तत्काल स्थानान्तरण हुन नसकेको स्थानीय दिलवहादुर विकले बताए ।
एकीकृत बस्तीको शुक्रवार फलेवास नगरपालिकाका नगरप्रमुख पदमपाणी शर्माले शिलन्यास गरे । सो अवसरमा बोल्दै नगरप्रमुख शर्माले बस्तीसँगै अन्य अवसरहरु पनि प्रदान गर्नका लागि नगरपालिकाले सहयोग गर्ने बताए । ‘बास संगै आम्दानीका अवसर पनि सृजना गर्नुपर्नेछ,’ शर्माले भने,‘ नगरपालिकाले आम्दानी हुने क्षेत्रमा यहाँहरुलाई आकर्षित गराउने योजनामा छ ।’ घर संगै थातथलो छोडेर आउने परिवारलाई आम्दानीको रुपमा पशुपालन, कृषि, लघु उद्यम तर्फ लगाएर आत्मानिर्भर बनाउने योजनामा रहेको नगरप्रमुख शर्माले बताए ।