पुष ८,पर्वत/कुश्मा हुँदै म्याग्दीको दानासम्म निर्माणाधिन कालीगण्डकी करिडोर प्रसारण लाईनलाई रुख कटानको आदेश नहुँदा काम प्रभावित भएको छ । रुख कटान गर्न वन कार्यालयले रोक लगाएपछि आयोजना प्रभावित भएको हो । वन डिभिजन कार्यालय पर्वत र म्याग्दीले रुख कटान आदेश नदिँदा राष्टिूय प्राथमिकता प्राप्त खुर्कोट( दाना प्रसारण लाईनको काम प्रभावित बनेको हो ।
प्रसारण लाईन क्षेत्रमा ४७७ ठूला रुख र ९८१ साना बिरुवा काट्नुपर्ने जनाइएको छ । टावर र तार विस्तार गर्दा बन मासिएको भन्दै डिभिजन बनले रोक लगाएको हो । प्रसारण लाईन अन्तर्गत ११४ वटा मध्ये हालसम्म ८१ वटा टावर निर्माण भएको छ ।
२०७४ पुष १३ गतेको मन्त्रीपरिषद् बैठकले प्रशारण लाइनका ३० वटा टावर निर्माण हुने वन क्षेत्रको २.५८ हेक्टर जग्गा भोगाधिकार र चार हजार २०८ वटा रुख काट्नका लागि अनुमती दिने निर्णय गरेको थियो । मन्त्रीपरिषद्को निर्णय एक वर्षसम्म कार्यान्वयन नहुँदा वन क्षेत्रमा टावर बनाउने र तार तान्ने काम गर्न समस्या परेको आयोजनाका प्रमुख चन्दनकुमार घोषले बताउनुभयो । बन कार्यालयले रुख कटान आदेश नदिएपछि समस्या भएको घोषले बताउनुभयो ।
वन क्षेत्रमा ओगट्ने क्षेत्रफल बराबरको सट्टा जग्गा उपलब्ध गराउनुपर्ने वन विभागसँगको सम्झौता कार्यान्वयनमा आयोजनाले उदाशिता देखाएकाले बाध्य भएर कटान आदेश रोकिएको डिभिजन वन कार्यालय पर्वतले जानकारी दिएको छ ।
टावर र तार विस्तारको क्रममा बन क्षेत्रका रुख कटान गर्नुपर्ने हुन्छ । रुख कटानको अनुमती बनले नदिएपछि आयोजनाले गति नलिएको घोषले बताउनुभयो । नेपाल विद्युत प्राधिकरणले म्याग्दीको उत्तरी क्षेत्र र मुस्ताङमा निर्माणाधिन जलविद्युत आयोजनाबाट उत्पादीत विद्युत केन्द्रीय ग्रिडमा जोड्नका लागि म्याग्दीको दाना र पर्वतको खुर्कोटमा सबस्टेसन र ३९ किलोमिटर प्रशारण लाइन बनाइरहेको छ । खुर्कोटबाट मोदी शव स्टेशन सम्म तार टाँगि सकिएको छ ।
एशियाली विकास बैंकको सहयोगमा सन् २०१६ मा दानादेखि खुर्कोट जोड्ने प्रसारण लाइन र सबस्टेसन निर्माण गर्न दुई अर्ब ९० करोड रुपैयाँमा टाटा प्रोजेक्ट्स र चिन्ट इलेक्टिूक जेभीसँग ठेक्का सम्झौता भएको थियो ।






