जलजला गाउँपालिकाद्वारा वडावडामा पुगेर व्यवसाय दर्ता

पुष ८,पर्वत/जिल्लाको जलजला गाउँपालिकाले गाउँगाउँमा व्यवसायी खोज्न थालेको छ । गाउँकार्यपालिकाको निर्णय अनुसार वडा–वडामा टोली खटाएर व्यवसाय दर्ता र नविकरण, सम्पती तथा भूमिकर संकलन गर्न थालिएको जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल रामकृष्णले जानकारी दिनुभयो । गाउँपालिकाले सूचना मार्फत करको दायरामा आउन व्यवसायीहरुलाई आहन गर्दापनि दर्ताका लागि नआएपछि टोली पठाएर करको दायरामा ल्याउन लागिएको अध्यक्ष मल्लले वताउनु भयो ।
संबैधानिक ब्यवस्था अनुसार गत असारमा भएको गाउँसभाले पारित गरेको सम्पती तथा भुमिकर ब्यवस्थापन कार्यबिधि २०७५ अनुसार विभिन्न मापदण्डको आधारमा वैज्ञानिक रुपमा करको दर निर्धारण गरि कर संकलन सुरु गरेको मल्लको भनाई छ । कार्यबिधिले एक लाख सम्मकालाई एक सय, एक लाख एक देखि दुई लाख सम्म २५०, दुईलाख एक देखि ५ लाखसम्म १८०, पाँच लाख देखि दशलाखसम्म प्रतिलाख ५६, दश लाख १ देखि २० लाख सम्म प्रतिलाख ५५ रुपैयाका दरले कर निर्धारण गरेको छ । बीस लाख १ देखि तीस लाख सम्म प्रतिलाख ५४, तीस लाख एक रुपैयाादेखि चालीस लाख सम्म प्रतिलाख ५३, चालीस लाख एक देखि पचास लाख सम्म प्रतिलाख ५२ र पचास लाख रुपैया भन्दा बढी प्रतिलाख ५१ रुपैयाँका दरले कर तिर्नुपर्ने कार्यबिधीमा उल्लेख छ । सम्पती तथा भूमीकरबाट यस वर्ष चालिस लाख रुपैया आम्दानी हुने अनुमान गरिएको छ । जलजलामा छ हजार करदाता रहेका गाउँपालिकाको अनुमान छ । नागरिकको क्षमता अनुसार वैज्ञानिक बिधि अपनाएर कर संकलन गरिने गाउँपालिकाका अध्यक्ष मल्लले जानाकारी दिनुभयो ।
मल्लाज स्थित ३ नम्बर वडा कार्यालयबाट सुरु भएको घुम्ति शिविर ९ वटै वडामा १७ दिनसम्म सञ्चालन हुने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुना शर्मा अधिकारीले बताउनु भयो । ‘करको दायरामा नआएकालाई टोली पठाएर दर्तामा ल्याउन खोजेका हौं ।’– अधिकारीले भन्नुभयो । दुई दिनमै दुई सय भन्दा धेरैजनाले कर तिरेका छन् । सम्पती तथा भूमिकरका फोकल पर्सन नायव सुब्बा भेषनाथ आचार्यको नेतृत्वमा सूचना प्रविधि अधिकृत मिलन मल्ल, कर्मचारीहरु शुशिला शर्मा ढकाल, अनिताकुमारी शर्मा, उदयचन्द्र श्रेष्ठ, इन्द्रबहादुर खत्रीको टोली परिचालन गरिएको छ ।
पुष ८ सम्बन्धित वडाका जनप्रतिनिधिहरु र सचिवसँगको समन्वयमा टोलीले कर सकलन गर्ने जलजलाका प्रवक्ता एवं वडा नम्वर ३ का अध्यक्ष रवि भण्डारीले बताउनु भयो । ‘दुई दिनमै अपेक्षा गरेभन्दा धेरै कर संकलन भएको छ,’ उहाँले भन्नुभयो ।, ‘सबै वडामा शिविर चलाउँदा धेरै करदाता आउने अपेक्षा गरेका छौं ।’ जलजलाले चालू आर्थिक वर्षदेखि गाउँपालिका क्षेत्रमा रहेको जग्गा तथा उक्त जग्गामा बनेका घर, गोठ, टहराको कर लिन सुरु गरेको हो ।