पुष ६ पर्वत/जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल रामकृष्णले जनतालाई स्थानीय सरकारको अनुभूति दिनेगरि काम गर्न केन्द्र सरकार र प्रदेश सरकारले बाधा पु¥याएको वताउनु भएको छ । जलजलाको पाँचौं गाउँसभालाई सम्बोधन गर्दै अध्यक्ष मल्लले उक्त कुरा वताउनु भएको हो । अध्यक्ष मल्लले सिंहदरबारको अधिकार गाउँगाउँमा भनेर जनतामा व्यापक प्रचार गरिएपनि केन्द्र र प्रदेश सरकारले स्थानीय सरकारको हात बाँधेको आरोप लगाउँदै केन्द्र र प्रदेशको हस्तक्षेपकारी भूमिका जारी रहेमा स्थानीय सरकार अफ्ठ्यारोमा पर्ने दावी गर्नुभयो । अध्यक्ष मल्लले स्थानीय सरकारलाई अधिकार सम्पन्न नगराएसम्म विकास र समृद्धिको कल्पना गर्न नसकिने समेत दावी गर्नुभयो । ‘सिंहदरबारको अधिकार जनतामा हस्तान्तरण गर्ने होभने स्थानीय सरकारलाई काम गर्ने वातावरण दिनुप¥यो, होइनभने संघीयताप्रति जनताको वितृष्णा जाग्छ, यो असफल हुन्छ ।’– अध्यक्ष मल्लले भन्नुभयो ।
अध्यक्ष मल्लले स्थानीय सरकारसँग भएका श्रोतसाधनलाई समुचित उपयोग गर्दै सकेसम्म जनतालाई लाभान्यित गर्ने र विकासलाई पारदर्शी र जवाफदेयी बनाउन आफूहरु पूर्ण इमान्दारिताका साथ लागेको जानाकारी दिनुभएको छ । उहाँले जनतालाई घरदैलोमै पुगेर सेवा दिन र गाउँपालिकाबाट विनियोजन भएको बजेटलाई सही ढंगले कार्यान्वयन गर्न कर्मचारी प्रशासन र वडाअध्यक्षहरुलाई समेत निर्देशन दिनुभएको छ । ‘विकासलाई बढि जवाफदेयी र सार्थक बनाउन असारे विकासलाई अन्त्य गर्नु जरुरी छ त्यसैले आजैदेखि योजनाहरुको कार्यान्वयनमा लाग्नोस ।’– मल्लले भन्नुभयो ।
कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुना शर्मा अधिकारीले पहिलो चौमासिक वित्तिय प्रगति र उपलब्धीहरुका वारेमा गाउँसभालाई जानकारी गराउनुभएको थियो । गाउँपालिकाको केन्द्र लामाखेतमा वसेको गाउँसभाले विभिन्न ८ वटा कार्यविधिहरु पारित गरेको छ । गाउँकार्यपालिकाद्धारा चालु आर्थिक वर्षमा निर्माण गरेका कार्यविधिहरु गाउँसभाले पारित गरेको हो । न्यायिक समितिले उजुरीको कारवाही गर्दा अपनाउनुपर्ने कार्यविधि २०७५, घ बर्गको निर्माण व्यवसायी इजाजत सम्बन्धी कार्यविधि २०७५, सम्पत्ति तथा भूमि कर व्यवस्थापन कार्यन्वयन कार्यविधि २०७५,स्थानीय राजपत्र प्रकाशित कार्यविधि २०७५ गाउँसभाबाट पारित भएको प्रमुख प्रशासकीय अधिकृत मुना शर्मा अधिकारीले बताउनुभयो ।
यसै गरी गाउँसभाले व्यापारीक फर्म दर्ता,अनुमति, नविकरण,खारेजी,अनुगमन र नियमन कार्यविधि २०७५, एफएम रेडियो व्यवस्थापन तथा सञ्चालन कार्यविधि २०७५,उपभोक्ता समिति गठन,सञ्चालन तथा व्यवस्थापन कार्यविधि २०७५ र करारमा कर्मचारी व्यवस्थापन गर्ने सम्बन्धि कार्यविधि २०७५ पारित गरेको र गाउँसभाले गाउँपालिका कार्यालय र वडामा रहने नागरिक वडापत्रको ढाँचालाई पनि पारित गरेको छ । चालु आर्थिक वर्षमा विनियोजन भएका केही योजना तथा कार्यक्रमको पुनरावलोकन सहित गाउँसभाले संसोधन गरी पारित गरेको गाउँपालिकाका प्रवक्ता देवेन्द्र बहादुर भण्डारीले बताउनुभयो ।
गाउँपालिका अध्यक्ष यामबहादुर मल्लको सभापतित्वमा भएको उक्त कार्यक्रमको संचालन समाजिक विकास अधिकृत लिलाधर सुवेदीले संचालन गर्नुभएको थियो ।






