काठमाडौं/लोकतान्त्रिक छापा माध्यम राष्ट्रिय समाजले वर्तमान सरकार प्रेसमाथि निर्मम बन्दै गएको घटनाप्रति दुःख व्यक्त गरेको छ । संचार उद्यमी कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलास सिरोहियालाई प्रहरीले कान्तिपुरको केन्द्रीय कार्यालय थापाथलीको कार्यकक्षबाटै गिरफ्तार गरेर सरकारले स्वतन्त्र प्रेसलाई तर्साउने, धम्क्याउने र त्रसित वातावरण श्रृजनागर्ने काम गरेको घटनाप्रति लोकतान्त्रिक छापा माध्यम राष्ट्रिय समाजले भत्सर्ना समेत गरेको छ ।
लोकतान्त्रिक छापा माध्यम राष्ट्रिय समाजका अध्यक्ष दामोदरप्रसाद दवाडीले बुधवार एक विज्ञप्ति जारी गर्दै संविधान प्रद्धत पूर्ण प्रेस स्वतन्त्रताको मिडियालाई उपभोग गर्न नदिन मिडियाबाट सहकारी ठगी प्रकरणका सूचना सामग्री प्रकाशन प्रशारण गरेकोमा त्यसलाई रोक्ने नियतले सरकारका उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको निर्देशनमा बर्दीमा आएका हतियारधारी दर्जनौं प्रहरी तैनाथ गरेको घटनाप्रति लोकतान्त्रिक छापामाध्यम राष्ट्रिय समाज खेद प्रकट गर्दछ । अध्यक्ष दवाडीद्वारा हस्ताक्षरित विज्ञप्तिमा ‘सरकारको प्रेसमाथिको यो दमन निरंकुस र अधिनायकवादी चरित्रको रुपमा समाजले लिएको छ ।
गृहमन्त्री लामिछानेले सार्वजनिक समारोह र संसदमा समेत स्वतन्त्र प्रेसमाथि धावा बोल्दै धम्क्याउने गरेका थिए । अनुसन्धानको नाममा मिडिया उद्यमीलाई गिरफ्तार गर्ने सरकारको यस्तो कदमको भत्सर्ना गर्दै प्रतिशोधपूर्ण सरकारको हर्कतबिरुद्ध शसक्त ढंगले प्रतिवाद गर्ने समाज चेतावनी’ दिइएको छ । मिडियामाथि कुनै पनि वहानामा गरिने हस्तक्षेप र प्रहारविरुद्ध एकजुट हुन समाज सम्पूर्ण संचारकर्मीहरुमा आव्हान गरेको छ ।
#प्रेस विज्ञप्ति :#







