ऐतिहाँसिक पैयुँकोटमा केवुलकार सञ्चालन गर्ने तयारी

असोज २० पर्वत/जिल्लाको महाशिला गाउँपालिकामा रहेको ऐतिहाँसिक पैयुँकोटबाट केवुलकार सञ्चालन गर्ने तयारी भएको छ । पैयुँकोटलाई पर्यटकिय क्षेत्रको रुपमा विकास गर्ने योजना अनुसार केवुलकार सञ्चालन गर्न थालिएको हो । महाशिला गाउँपालिका र पैयुँ गाउँपालिकाको सहकार्यमा पैयुँकोटको विकासका बारेमा छलफल शुरु भएको छ । हालै दुबै गाउँपालिकाका प्रतिनिधी सहभागी भएर पैयुँकोटको विकासका लागि  गुरुयोजना निर्माण गर्न लागेका हुन् । पैयुँकोटवाट हुवाससम्म केवुलकार सञ्चालन गर्न संभाव्यता अध्ययन गर्न लागिएको महाशिला गाउँपालिकाका अध्यक्ष राजुप्रसाद पौडेलले जानकारी दिए । ‘पैयुँकोटबाट हुवाससम्म केवुलकार चलाउन सके पैयुँकोटमा विकासको ढोका खोलिने देखिन्छ,’ पौडेलले भने,‘ पैयुँकोटको विकासका लागि दुबै गाउँपालिका जुटेर काम थालिसकेका छौँ ।’ पैयुँकोट ऐतिहाँसिक क्षेत्र भएर पनि ओझेलमा रहेको पौडेलले बताए । केवुलकार सञ्चालन गरेमा यसको महत्व देशभरि पुग्ने उनले विश्वास व्यक्त गरे ।

समुन्द्रि सतहबाट करिव १३ सय मिटर उचाईमा रहेको पैयुँकोटमा केवलुकार संगै प्याराग्लाईडिङ उडान पनि शुरु गरिने भएको छ । प्याराग्लाईडिङ उडान गर्ने विषयमा यसअघि पनि चर्चा चल्ने गरेको थियो । तर समन्वय गर्ने निकायको अभावमा उक्त योजना छलफलमा मात्रै सिमित थियो । प्याराग्लाईडिङका लागि यो क्षेत्र उपयुक्त रहेको छ । महाशिला गाउँपालिका अध्यक्ष राजुप्रसाद पौडेल, उपाध्यक्ष हिरा राना, पैयुँ गाउँपालिकाका अध्यक्ष खगेन्द्रप्रसाद तिवारी, उपाध्यक्ष जसमती गुरुङ सहित दुबै गाउँपालिकाका अध्यक्षहरुको संयुक्त वैठक बसेर केवुलकार र प्याराग्लाइडिङ सञ्चालन गर्न डिपिआर तयार पार्न समिति गठन भएको छ ।

‘हाम्रो समृद्धि पर्यटनबाट मात्रै संभव छ,’ पैयुँका अध्यक्ष तिवारीले भने,‘ पर्यटन प्रवर्दन गर्न पैयुँकोटको विकास गर्न जुरुरी छ । पैयुँकोटको विकासका लागि महाशिला र पैयुँ गाउँपालिका मिलेर काम गर्न तयार छौँ ।’ दक्षिणी पर्वतका बासिन्दा पैयुँकोट मन्दिर र दरवारलाई गर्वको रुपमा लिने गरेका छन् ।

पैयुँकोट मन्दिरमा नियमित पुजा ञ्चालन गर्न र पुरानो सँस्कार र परम्परा लाई निरन्तरता दिने निर्णय वैठकले गरेको छ ।

संरक्षण समिति र पुजा समितिलाई पुनर्गठन गर्नका लागि पैयुँ गाउँपालिका वार्ड ३ र ४ र माहशिला १ का वडा अध्यक्षहरुलाई जिम्मेवारी दिने निर्णय भएको महाशिला गाउँपालिकाका प्रवक्ता जीवन उचै ठकुरीले जानकारी दिए । ‘ नियमित पूजा गर्न थालेमा यहाँ पूजाआजा गर्ने मानिसहरु आउन थाल्छन्,’ ठकुरीले भने,‘ पूजाआजा गर्न पुग्ने फुल चढाएर मात्रै फर्किने गरेका छन् । पूजाआजा चलाउँदा मानिसहरु आउजाउ गर्छ ।’ ठकुरीका अनुसार पैयँुकोट क्षेत्रको इतिहाँस तयार गर्नका लागि ११ सदस्यीय समिति गठन भएको छ ।

पैयुँकोटमा सेन बंशिय राजाहरुले शासन गरेका थिए । पहिले चारपाला भन्ने मगरहरुको राज्य रहेको किवंदंती छ । भदौरे, सितौरे, राना लगायतका राजाहरुका विचमा द्धन्द भएपछि १६ औँ शताव्दी तिर सेन वंशका राजाले शासन शुरु गरेको पाइएको छ । पैयुँकोटमा सेन राजाले बनाएको दरवारको अहिले भग्नावशेष अवस्था छ । युद्धमा प्रयोग गरेका ,राजाले प्रयोग गरेको पोखरी, सुनधुने पोखरी, किल्लाहरु समेत अहिले पनि यहाँ देख्न सकिन्छ । त्रिबेणीमा फुलवारी दरबार अहिले पनि छ । पैयुँकोटमा गर्मी मौसममा राजा बस्ने गरेको र जाडो मौसममा त्रिवेणी स्थित फुलवारीमा बस्दै आएको विभिन्न समयमा लेखिएका अभिलेखहरुमा पढ्न सकिन्छ । पैयुँकोट,दरौकोट, विहादी कोट र पुर्कोट चौविसे राजाहरुको शक्तिशाली राज्यको रुपमा रहेका थिए ।