असोज २०, पर्वत/तीन महीनासम्म सञ्चालन भएर रोकिएको बागलुङको बलेवा विमानस्थल पुनः सञ्चालनमा आउने भएको छ । कच्ची विमानस्थलमा वर्षाका बेला ट्वीनअटर विमानलाई समस्या भएकाले हवाई सेवा रोकिएको थियो । वर्षा रोकिएको र बिग्रिएका धावनमार्ग मर्मत गरिएकाले यही असोज २५ गतेदेखि पुनः हवाई सेवा सञ्चालन हुन लागेको बागलुङ नगरपालिकाले जनाएको छ ।
नेपाल एयरसँग रहेका दुई ट्वीनअटर विमानमा समस्या आएकाले मर्मतमा समय लागेको र तारा एयरका विमान दुर्घटनामा परेका कारण नियमित उडान रोकिएकोमा अब पुनः उडान सञ्चालन हुने बलेवा विमानस्थलका स्टेशन म्यानेजर कमलप्रकाश पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार असोज २५ गते बिहीबारका दिन नेपाल एयरको विमान काठमाडौँबाट यात्रु बोकेर बलेवामा अवतरण गर्नेछ ।
विमानस्थल पुनः सञ्चालनमा आउने भएपछि यात्रुको चापसमेत बढेको छ । तारा एयरको उडान तत्काल नहुने भए पनि नेपाल एयरले हरेक बिहीबार नियमित उडान भर्नेछ । असोज २५ गते बिहीबार काठमाडौँबाट आउने नेपाल एयरको विमानका सबै सिट बुकिङ भइसकेको बताइएको छ ।






