बागलुङ/बलेवा क्षेत्रकै पुरानो क्याम्पस बलेवा पैयुँपाटा बहुमुखी क्याम्पसको ११ औँ अधिवेशन तथा वार्षिक साधारण सभा विविध कार्यक्रम सहित शनिवार सम्पन्न भएको छ । बानपा १३ का वडाअध्यक्ष नारायण शर्मा पौडेलको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा स्थापना कालदेखि नै क्याम्पसलाई विशेष योगदान पुर्याउनुभएका पूर्व सञ्चालक समितिका पदाधिकारीहरूलाई सम्मान गरिएको थियो ।
क्याम्पसको भावी कार्यदिशाका बारेमा विशेष अन्तरक्रिया भएको उक्त कार्यक्रममा कृष्ण गण्डकी क्याम्पस, नारायणस्थानका अध्यक्ष कमल जिसीले शुभकामना मन्तव्य राख्नुभएको थियो । निर्वाचन समितिका संयोजक शिक्षक ईश्वरीप्रसाद गौतमले निर्वाचन प्रक्रियालाई अघि बढाउनुभएको थियो । अधिवेशनले क्याम्पस सञ्चालक समितिको अध्यक्ष पदमा चूडामणि शर्मा पौडेललाई निर्विरोध निर्वाचित गरेको छ भने सदस्यहरूमा सहमतिको प्रयास भइरहेको क्याम्पस प्रमुख ज्ञानेन्द्रराज पन्तले जानकारी दिनुभयो । क्याम्पस सञ्चालक समितिका अध्यक्ष चूडामणि शर्मा पौडेलको सभापतित्वमा सप्पन्न उक्त कार्यक्रमको सञ्चालन शिक्षक कृष्णप्रसाद पौडेलले गर्नुभएको थियो । कार्यक्रममा क्याम्पसका गतिविधि समेटिएको प्रतिवेदन क्याम्पस प्रमुख ज्ञानेन्द्रराज पन्तले प्रस्तुत गर्नुभएको थियो भने स्वागत मन्तव्य त्रिभुवन माविका विव्यस अध्यक्ष एवं क्याम्पसका पदेन सदस्य डा. रामबहादुर केसीले गार्नुभएको थियो ।







