पर्वत/जिल्लाका निष्ठावान नेता, आर्दश व्यक्तित्व एवम् प्रजातन्त्र सेनानी स्वर्गिय अमृतप्रसाद जोशीको १७औं स्मृति दिवस विभिन्न कार्यक्रम सहित सम्पन्न भएको छ । पर्वतको इतिहासमा सवैभन्दा लामो अवधी जिल्ला विकास समितिको सभापति रहनु भएका समाजसेवी स्वर्गिय अमृतप्रसाद जोशीको स्मृतिमा आयोजित कार्यक्रममा बोल्दै प्रतिष्ठानका प्रमुख संरक्षक एवम् संविधान सभा सदस्य अर्जुनप्रसाद जोशीले आफ्ना पिताजीले पर्वतको विकास, सुशासन, समाज रुपान्तरण र प्रजातन्त्रको रक्षाको लागि गर्नुभएको त्यागका कारण आजपनि उहाँको सम्मान हुने गरेको वताउनु भयो । नेता जोशीले आफ्नो पिताको उच्च आदर्श र राजनीतिक प्रेरणाबाट आफू राजनीतिमा लागेको वताउँदै जनताको विश्वास र भरोसामाथि कहिल्यै खेलवाड नगर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । ‘म आँफु तीन/तीन पटक सांसद हुँदा जनताको लागि के कति गरें त्यो त थाहा छैन, तर जति गरेको छु इमान्दारिताका साथ गरेको छु । जनतामा वदनाम हुने काम गरेको छैन ।’–उहाँले भन्नुभयो । नेता जोशीले आफू अहिले जनताको निर्वाचित प्रतिनिधि नरहेपनि जनताको सुखदुखबाट अलग नरहेको वताउँदै आफ्नो भूमिकाको आवस्यकता पर्दा सँधै सम्झिन आग्रह गर्नुभयो ।
संविधानसभाको सदस्य समेत रहनुभएका नेता जोशीले पछिल्लो समयमा समाजमा असल काम गर्नेहरुलाई पनि निरुत्साहित गर्ने र संविधान र लोकतन्त्रमाथिनै नियोजित आक्रमण गर्ने गलत प्रवृत्तिको विकास भएको वताउँदै समाजमा बढ्दै गएको गैरदलीय चरित्रबाट सतर्क रहन सबैलाई आग्रह गर्नुभएको थियो । उहाँले प्रतिष्ठानलाई राजनीतिक छायाँबाट निरपेक्ष बनाउन र सबैलाई समेटेर अघि बढ्न सुझाव समेत दिनुभएको थियो ।
सोही कार्यक्रममा नेपाली काँग्रेस पर्वतका सभापति एवं स्वर्गीय अमृतप्रसाद जोशीका कान्छा सुपुत्र युवराज जोशीले पिता स्वर्गिय अमृतप्रसाद जोशीले समाजको सुधारका लागि महत्वपूर्ण काम गरेकै कारण आज उहाँ नरहेपनि उहाँको नाम जीवित रहेको वताउँदै जनताबाट निर्वाचित जनप्रतिनिधिहरु र राजनीतिकर्मीहरुले व्यक्तिगत स्वार्थ त्यागेर मरणोपरान्त पनि समाजमा जीवित रहने र समाजले सम्झिरहने काम गर्न सुझाव दिनुभएको थियो ।
सोही कार्यक्रममा जलजला गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्य, कुश्मा नगरपालिकाका उपप्रमुख स्वस्थानी रिजाल, नेकपा एमालेका उपाध्यक्ष पदमपाणी शर्मा, जिल्ला समन्वय समितिका प्रमुख विष्णुराम विक, प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद आचार्य, डिल्लीराम लामिछाने स्मृति प्रतिष्ठानका अध्यक्ष राजीव लामिछाने, पत्रकार ओमप्रसाद शर्मा घायल र गुप्तेश्वर बहुमुखी क्याम्पसका अध्यक्ष बसन्तकुमार कर्माचार्य, अमृत जोशीका समकालिन व्यक्तित्व मथुराकुमार जोशी, बरिष्ठ साहित्यकार शान्तिनारायण श्रेष्ठ, कवि कृष्णराज पौडेल र डण्डपाणी शर्मा लगायतले बोल्नुभएको थियो । अमृत जोशी स्मृति प्रतिष्ठानका अध्यक्ष गंगाधर तिवारीको अध्यक्षता भएको उक्त कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष मानकुमारी गिरीले र कार्यक्रमको संचालन प्रतिष्ठानका सचिव माधव पौडेलले गर्नुभएको थियो । सोही कार्यक्रममा प्रतिष्ठानका सल्लाहकार कमलनाथ शर्माले स्वर्गिय अमृतप्रसाद जोशीको जीवनीको वारेमा प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
प्रतिष्ठानले ‘अमृत जोशी र विकास निर्माण एवं सामाजिक क्षेत्रमा उहाँको योगदान’ विषयक खुल्ला निबन्ध प्रतियोगिताको आयोजना गरेको थियो । प्रतियोगितामा सिर्जना शर्मा रेग्मी प्रथम, बोधकुमारी अर्याल पौडेल द्वितीय, बिमलाकुमारी शर्मा तृतीयमा साथै नारायण पौडेल र संगीता सुनार सान्त्वना भएका थिए । प्रतियोगिताबाट प्रथम, द्वितीय तृतीय र सान्त्वना हुनेलाई क्रमशः ११ हजार, ७ हजार, ४ हजार र १ हजार पुरस्कार समेत प्रदान गरिएको थियो ।






