गठबन्धन सरकारका कारण देश असफल हुने खतरा बढेको ओलीको टिप्पणी

पर्वत/नेकपा एमालेका अध्यक्ष केपी ओलीले वर्तमान गठबन्धन सरकारका कारण देश असफल राष्ट्र हुने खतरा बढेको आरोप लगाएका छन् । विहिवार पर्वत सदरमुकाम कुश्मा बजारमा आयोजीत जनसभालाई सम्बोधन गर्दै ओलीले सरकारका कारण देश अव असफल राष्ट्र हुने दिसामा अघि बढेको बताएका हुन् । सरकारले आर्थिक अवस्था विग्रदै जाँदा पनि त्यसको रोकथाममा कुनै पहल नगरेको ओलीले आरोप लगाए ।
ओलीले भने–‘सरकारले तलब खुवाउन पनि ऋण मागिरहेको छ ।’ देशमा विकास आयोजनाहरु बन्द भएको उल्लेख ओलीले सामान्य प्रशासनीय खर्च धान्न नसक्ने गरी देशलाई वर्तमान गठबन्धन सरकारले देशलाई टाट पल्टाएको दावी गरे ।

ओलीले सरकार गलत बाटोमा हिडिरहेको भन्दै आलोचना गरे । उनले आफ्नो पालामा शुरु भएका सवै विकास निर्माणका कामहरु अहिले बन्द भएको समेत बताए । मध्यपहाडी लोकमार्गमा सम्बृद्धिका लागि संकल्प यात्रा शुरु गरेको एमालेले आठौं दिन कुश्मामा जनसभा सम्पन्न गरेको हो । जनसभामा एमालेको केन्द्रिय पदाधिकारीहरुको सहभागीता रहेको थियो । एमालेले जनसभा अघि झाकी सहित कुश्मा बजारका विभिन्न ठाउँबाट रयाली निकालेको थियो ।

कार्यक्रममा एमाले केन्द्रिय सदस्य पदम गिरीले पर्वत जिल्लामा आवश्यक विकास आयोजनाहरुको बिषयमा ओली लगाएतका नेताहरुलाई जानकारी गराएका थिए । कार्यक्रममा स्वागत मन्तव्य पार्टीका उपाध्यक्ष पदमपाणी शर्माले गरेका थिएभने जिल्ला सचिव गोविन्द पहाडीले सञ्चालन गरेको कार्यक्रमको अध्यक्षता राजु पौडेलले गरेका थिए ।