काँग्रेसको कुश्मा नगर सम्मेलन: कार्यकर्तामा आत्मशुद्धता हुनुपर्ने पार्टी सभापति जोशीको धारणा

पर्वत/नेपाली काँग्रेस कुश्मा नगर समितिको नगर सम्मेलन आज सम्पन्न भएको छ । नगर कार्यसमितिको आयोजनामा नगर स्तरीय सम्मेलन सम्पन्न भएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला सभापति यूवराज जोशीले पार्टीलाई अन्तरघात गर्नेको पहिचान गर्नुपर्ने बताउनुभयो । उहाँले पार्टीका विभिन्न पदमा रहने तर पार्टीले सिफारिस गरेका उम्मेदवारलाई पराजित गर्न हिँड्नेका कारण नेपाली काँग्रेस पर्वत अप्ठयारो अवस्थामा रहेको गुनासो गर्नुभयो ।

सभापति जोशीले संगठन बलियो बनाउन नेता तथा कार्यकर्तामा आत्माशुद्धता हुनुपर्ने बताउनुभयो । उहाँले कुश्मा नगरपालिकामा पार्टीको संगठन मजवुत बनाउनका लागि सबैले आफ्नो क्षेत्रबाट मनबाटै सहयोग गर्न आवश्यक रहेको बताउनुभयो । पार्टीबाट विजेता बनेका जनप्रतिनिधीहरुले पार्टीलाई लेवि नतिर्ने समस्या रहेको भन्दै जोशीले यसरी पार्टी चलाउन समस्या हुने उल्लेख गर्नुभयो । जनप्रतिनिधीले वडादेखि पालिकासम्मको बजेट विनियोजन गर्दा पार्टीभित्र छलफल नहुने गरेकोमा असन्तुष्टि व्यक्त गर्नुभयो ।

कार्यक्रममा गण्डकी प्रदेश सदस्य सीता काफ्ले लामिछाने, उपसभापति डा. चुडामणी शर्मा, सचिव गुप्तनिधी शर्मा, महाधिबेशन प्रतिनिधी बसन्तबहादुर सिके, महाधिबेशन प्रतिनिधी एवं जिल्ला सदस्य शिव शर्मा अधिकारी, महाधिबेशन प्रतिनिधी एवं महिला संघका अध्यक्ष मुना शर्मा लामिछाने, प्रदेश क का सभापति राजकुमार क्षेत्री, कुश्मा नगरपालिका ८ का अध्यक्ष सुरेन्द्र केसी, कुश्मा नगरपालिका ७ का सभापति खेमनाथ शर्मा, रेडक्रस सभापति रुद्रबहादुर रिमाल लगायतले बोल्नुभएको थियो । नेपाली काँग्रेस कुश्मा नगर समितिका सभापति किशोर भण्डारीको सभापतित्वमा भएको कार्यक्रममा स्वागत उपसभापति राजन जोशीले गर्नुभएको थियो भने सञ्चालन सचिव उत्तम ढकालले गर्नुभएको थियो ।