वैदेशिक रोजगारीले बढायो सम्बन्ध विच्छेद: सन्तानको भविष्य अन्योलमा

पर्वत/विदेश जाने युवाको संख्या जति बढ्दो छ, सोही कारण पारिवारिक विखण्डन, विकृति, दम्पती र सन्ततिको भविष्य अन्योल बन्ने क्रम उति उकालो लाग्दो देखिएको छ । वैदेशिक रोजगारीले नेपाली अर्थतन्त्रसहित समाजका विभिन्न पाटामा सकारात्मक प्रभाव पारेको छ । तर पनि यसको नकारात्मक पाटोका रूपमा सम्बन्धविच्छेदका घटना पनि बढेको देखाएको छ । जसले गर्दा बालबालिका अलपत्र पर्ने क्रम पनि बढ्दै गएको छ । एक छोरा, एक छोरी र श्रीमतीलाई घरमा छोडेर पर्वतको पैयुँ–५ का गोरखबहादुर (नाम परिवर्तन) मलेसिया उडे । उनलाई बिदाइ गर्न श्रीमती पनि साथमै काठमाडौंसम्म पुगिन् । गोरखबहादुर ६ वर्ष मलेसिया बसे । १० वर्षकी छोरी र ५ वर्षको छोरा छोडेर मलेसिया गएपछि श्रीमतीको नाममा नियमित पैसा पठाउन थाले । श्रीमान्ले पठाएको पैसाले घरखर्च, छोराछोरीको पढाइ राम्रै चलाएर पनि बचत गर्ने र भविष्य उज्ज्वल बनाउन सघाउने अपेक्षा गरेका गोरखबहादुर २ वर्षअघि घर फर्किंदा छाँगाबाट खसेझैं भए, जतिबेला श्रीमतीले ६ लाखको ऋण देखाइन् । केही दिनमै श्रीमती घरबाट बेपत्ता भइन् । प्रहरीले श्रीमतीलाई त सम्पर्कमा ल्यायो तर परपुरुषसँग लागेकी श्रीमती उल्टै ऋणको भारी बोकाएर एकाएक सम्बन्धविच्छेद गरिन् । छोराछोरीलाई वृद्ध हजुरबुबा, हजुरआमाको रेखदेखमा छोडेर गोरखबहादुर पुनः मलेसिया उडे ।
फलेवास नगरपालिका–३ का धनबहादुर क्षत्री (नाम परिवर्तन) पनि पारिवारिक सुखकै लागि वैदेशिक रोजगारीमा गए । उनकी श्रीमतीले पनि विदेशबाट पठाएको रकम कुम्ल्याएर अन्यत्रै लागिन् । नाबालक छोरा छोडेर बिदेसिएका श्रीमान् घर फर्किने बेलामा श्रीमती नभेटेपछि गत कात्तिकमा प्रहरीमा उजुरी गरे । विदेशबाट घर फर्किएकै दिन बेपत्ता श्रीमती सम्पर्कमा त आइन् तर श्रीमान्ले पठाएको नगद फिर्ता पाउन सकेनन् । १० महिना बितिसक्दा पनि श्रीमती साथमा नहुने र सम्बन्धविच्छेद पनि नगर्दा उनी अझै तनावमा छन् ।

कास्की घर भई पर्वतकै मोदी गाउँपालिकामा बसोबास गर्ने एक महिला परपुरुषसँगको सम्बन्धकै कारण बिदेसिएका श्रीमान्ले पठाएको नगदसमेत हिनामिना पारेर हिँडेपछि श्रीमान् बेवारिसे भए । करिब ४ वर्ष वैदेशिक रोजगारीमा कमाएको पैसा लिएर परपुरुषसँग गएकी श्रीमतीलाई उनले फर्काउन नसकेपछि रेसम सुनार (नाम परिवर्तन) अहिले निराश छन् । कुश्मा नगरपालिकाकै लक्ष्मी परियार (नाम परिवर्तन) ले श्रीमान् विदेश गएको मौका छोपेर परपुरुषसँग लाग्दा दुई छोराछोरीको बिचल्ली भयो । स–साना बालबालिकाको शिक्षादीक्षामा समस्या भएपछि सामाजिक संघसंस्थाको सक्रियतामा स्थानीय एक सामुदायिक विद्यालयमा भर्ना गरिएको छ । सामुदायिक प्रहरी र नेपाल प्रहरीको महिला सेलको सहयोगमा छोराछोरीको हेरचाहका लागि एक लाख नगद दिन परियारका दोस्रो श्रीमान् राजी भए ।

पारिवारिक सुख, सन्तुष्टि र सुनौलो भविष्यको खोजीमा वैदेशिक रोजगारीमा जाने युवाको संख्या जति बढ्दो छ, सोही कारणले पारिवारिक विखण्डन, विकृति, दम्पती र सन्ततिको भविष्य अन्योल बन्ने क्रम पनि निरन्तर उकालो लाग्दो छ । गएको एक वर्षमा वैदेशिक रोजगारीकै कारण परपुरुषसँगको सम्बन्धका कारण पारिवारिक विखण्डनतर्फ धकेलिएका जोडीको संख्या पर्वतमा मात्रै करिब डेढ दर्जन छ । लैंगिक हिंसाका क्षेत्रमा लामो अनुभव सँगालेकी प्रहरी नायब निरीक्षक पूर्णिमा थापाका अनुसार वैदेशिक रोजगारीकै कारण पारिवारिक विखण्डनका शृंखलामा वृद्धि हुन थालेको करिब एक दशक भयो । ‘मैले यही क्षेत्रमा काम गर्दा धेरै प्रकृतिका मुद्दा हेरेकी छु,’ उनले भनिन्, ‘पाँच–सात वर्षयता यस्ता प्रकृतिका घटना निरन्तर बढ्दो क्रममा छन् ।’ बढ्दो सामाजिक सञ्जालको प्रयोग, स्मार्टफोन, स्वतन्त्रतालगायत कारण सामाजिक तथा पारिवारिक विखण्डन भित्रभित्रै भुसको आगो जस्तै सल्किरहेको तर्क गर्दै उनले भनिन्, ‘कतिपय पुरुष आफ्नो सामाजिक प्रतिष्ठामा आँच आउने कारणले पनि प्रहरीमा उजुरी गर्न आउँदैनन् ।’

पर्वत प्रहरीको महिला बालबालिका तथा लैंगिक हिंसाको तथ्यांक अनुसार गत आर्थिक वर्षमा विवाहेत्तर सम्बन्धका कारण पारिवारिक विखण्डन भएका घटनाको संख्या १६ छ । तीमध्ये धेरैजसो वैदेशिक रोजगारीका कारण सम्बन्धमा विखण्डन आएको उजुरीमा उल्लेख छ । ‘अझै पनि कतिपय केस हामीकहाँ आउँदैनन्,’ प्रहरी नायब उपरीक्षक शिवराज बुढाथोकी भन्छन्, ‘भित्रभित्रै बुझ्दा केही परिवारमा कल्पनै गर्न नसकिने गरी परिवार विक्षिप्त बनिरहेका छन् ।’ आधुनिकता, प्रविधिको पहुँच, विश्वव्यापीकरण, स्वतन्त्रतालगायत कारण नेपाली समाजको वैवाहिक सम्बन्ध र सन्तानको भविष्य धराशायी बन्दै गएको बुढाथोकीले बताए । यस्तो समस्या समाधानका लागि तीनै तहका सरकारले स्थानीयस्तरमै रोजगारी, शिक्षा, स्वास्थ्य र अवसरको सिर्जना गर्नुका साथै मनोचिकित्सकको पनि पर्याप्त व्यवस्था गर्नुपर्ने प्रसनि थापा बताउँछिन् ।