कुश्मामा गण्डकी प्रदेश स्तरीय तेक्वान्दो प्रतियोगिता शुरु

90

पर्वत/पर्वतको कुश्मामा गण्डकी प्रदेश स्तरीय तेक्वान्दो प्रतियोगिता शुरु भएको छ । प्रदेश खेलकुद परिषद गण्डकीको आयोजना र जिल्ला तेक्वान्दो संघ पर्वतको व्यवस्थापनमा तेक्वान्दो हल बडगाउ मा प्रतियोगिता शुरु भएको हो । कार्यक्रमको उदघाटन गर्दै प्रमुख अतिथी कुश्मा नगरपालिकाका नगरप्रमुख रामचन्द्र जोशीले खेलकुदको माध्यमले देशको पहिचान र खेलाडीको ब्याक्तित्व विकासमा महत्वपूर्ण भुमिका खेल्न सक्ने बताउनुभयो । विश्वका धेरै देशले खेलकुद लाई प्राथमिकता दिएपनी नेपाल सरकारले अझै पनि खेलको विकासमा प्रयाप्त सहयोग गर्न नसकेको जोशीले गुनासो गर्नुभयो । पर्वत जिल्ला पर्यटनमा चर्चित भैरहेको परिवेशमा खेलकुदको माध्यमबाट पनि समृद्ध बनाउने अभियानमा लाग्नुपर्ने र त्यसका लागि सबै स्थानीय तह र संघसंस्थाका बिचमा सहकार्य आवश्यक रहेको बताउनुभयो । कुश्मा नगरपालिकाले खेलमैदान, कवर्डहल विकासमा ध्यान दिइरहेको र खेलाडीको मनोवल बढाउने काम गरेको नगरप्रमुख जोशीले बताउनुभयो ।

प्रतियोगिताको उदघाटन कार्यक्रममा गण्डकी प्रदेश तेक्वान्दो संघका उपाध्यक्ष ध्वजकुमार गुरूङ, गण्डकी प्रदेश खेलकुद परिषदका सदस्य ऋषि गौतम,उपाध्यक्ष लक्ष्मी पाण्डे,जिल्ला खेलकुद विकास समिती पर्वतका अध्यक्ष हर्कमान गुरुङ,कुश्मा नगरपालिका ५ का वडाअध्यक्ष रामहरी शर्मा, जिल्ला तेक्वान्दो संघ पर्वतका उपाध्यक्ष निर्मल विश्वकर्मा लगायतले शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो ।

गण्डकी प्रदेश तेक्वान्दो संघका अध्यक्ष जगनवहादुर गुरुङको सभापतित्वमा भएको उक्त कार्यक्रममा महासचिव रमेश पौडेलले स्वागत मन्तब्य राख्नु भएको थियोभने कार्यक्रमको संचालन पर्वत जिल्ला अध्यक्ष इन्द्रमान खत्रीले गर्नुभएको थियो । गण्डकी प्रदेश तेक्वान्दो संघ र तेक्वान्दो संघ पर्वतको व्यवस्थापनमा आयोजित उक्त प्रतियोगितामा प्रदेशका ११ वटै जिल्लाका ९४ जना खेलाडी सहभागी भएका छन् भने विभिन्न इभेन्टसका खेल हुनेछन् ।