पर्वतका स्थानीय तहले नीति, कार्यक्रम र बजेटका लागि सुझाब संकलन शुरू गरे

ओमप्रसाद शर्मा घायल
पर्वत/पर्वतका स्थानीय तहले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमाथि सुझाव संकलन गर्न थालेका छन् । आर्थिक वर्ष २०८०/८१ को बजेटको प्रभावकारी कार्यान्वयन र पालिकाको समृद्धिमा स्थानियको भूमिकाको विषयमा सरोकारवालाहरुसँग रायसुझाव संकलन तथा छलफल गर्न थालेका हुन् । पर्वतमा दुई नगरपालिका सहित पाँच वटा गाउँपालिका छन् । स्थानीय तहले असार १० गतेसम्ममा नगरसभामा बजेट पेस गरिसक्नुपर्छ ।

पर्वतका स्थानीय तहले अहिले धमाधम सुझाव संकलनका लागि गृह कार्यथालेका छन् । अगामी आर्थिक वर्षको नीति,बजेट तथा कार्यक्रम तर्जुमाका लागि विज्ञ,राजनीतिक दल,संघसंस्था,बुद्धिजीवी,सञ्चारकर्मी, समाजसेवी,पेसाकर्मी कर्मचारी र आम नागरिकहरूबाट राय सुझाव माग गरिसकेकोे पैयुँ गाउँपालिका अध्यक्ष तोरण मल्ल ठकुरी ‘राज’ ले जानकारी दिए । असार ८ गते नीति तथा कार्यक्रम र बजेट ल्याउने तयारी भइरहेको र त्यसैको तयारी स्वरुप सुझाव सल्लाह संकलन गरिएको अध्यक्ष मल्लको भनाई छ ।

जिल्लाका बिहादी गाउँपालिका पनि यतिबेला नीति, कार्यक्रम र बजेटको पूर्व तयारीमा जुटेको छ । गाउँपालिकाले जेठ ४ गते सुझाव संकलन आह्वान गरेको छ । अध्यक्षका स्वकिय सचिव मोतीवहादुर कुवँरका अनुसार गाउँपालिकाले आर्थिक बर्ष २०८०÷०८१ को नीति तथा कार्यक्रम तर्जुमा गर्ने क्रममा गाउँपालिकाले समेट्नुपर्ने पूर्वाधार, सामजिक, आर्थिक, सुशासन, वातावरण तथा विपद व्यवस्थापन लगायतका क्षेत्रमा अंगाल्नुपर्ने नीति तथा कार्यक्रमको सम्बन्धमा सुझाव माग गर्न सर्वपक्षीय भेला आयोजना गरेको बताए । उनले उक्त भेला मार्फत बजेटको मिति तोकिने जानकारी दिए ।

महाशिला गाउँपालिकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमाथि इमेल मार्फत राय सुझाव पेश गर्न भनेको छ । बजेटलाई यथार्थपरक, जनचाहना अनुसार जनमैत्री, दोगो विकासमैत्री, प्रभावकारी र जनसहभागितामूलक बनाउन इमेल मार्फत सुझाव मागिएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत हरिप्रसाद पराजुलीले जानकारी दिए ।

आगामी आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम र बजेटको तयारीका लागि फलेवास नगरपालिकाले बृहत अन्तरकृया कार्यक्रम आयोजना गरेको छ । नगरपालिकाले प्राथमिकतामा राख्न सक्ने योजनाहरुका लागि विषयबिज्ञ, राजनीतिक दलका अगुवा, पुर्व जनप्रतिनिधि, सामाजिक तथा संघसंस्थाका अगुवा लगायतसंग सुझाव सङ्कलन गरेको हो । बिहिबार नगरपालिकाको कार्यालयमा आयोजित कार्यक्रममा कृषि, स्वास्थ्य, वन तथा वातावरण, बिपत व्यवस्थापन, शिक्षा लगायत नगरबासीको सरोकारका विषयका योजना समेट्न सहभागिहरुले सुझाव दिएका छन् ।

कुश्मा नगरपालिकाले असार ३ गते सर्वदलिय बैठक आयोजना गरेको छ । कुश्मा नगरपालिकाका मेयर रामचन्द्र जोशीले आईतवार नीति तथा कार्यक्रम र बजेटको तयारीका विषयमा बैठक आयोजना गरेकोे बताए । उनले असार १० गतेभित्र बजेट ल्याउने तयारीका लागि सर्वपक्षीय भेला आयोजना गरेको बताए ।

नागरिकको हित र विकासका लागि मोदी गाउँपालिकाले हरेक वर्ष ल्याउने नीति तथा कार्यक्रममा उनीहरुको सहभागिता र आवश्यकताका विषयमा बुझन् सुझाव संकलन गरिसकेको गाउँपालिका उपाध्याक्ष विमल लामिछाने बताए । उनले मंगलवार गाउँपालिकाका विज्ञ, राजनीतिकदल,संघसंस्था,बुद्धिजीवी,सञ्चारकर्मी, समाजसेवी,पेसाकर्मी लगायत सँग बसेर आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमाथि छलफल गरेको बताए । जलजला गाउँपालिकाले पनि आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम र बजेटका लागि सुझाव संकलन गरिरहेका बताएको छ । राय सुझावकै आधारमा अगामी वर्षको नीति,बजेट तथा कार्यक्रम ल्याइने गाउँपालिकाले जनाएको छ ।