पर्वत/नेपाली कांग्रेसका महिला नेतृ एवं नेपाल महिला संघका पूर्व केन्द्रीय अध्यक्ष मिना पाण्डेको निधन भएको ११ औं दिनको तिथि पारेर नेपाल महिला संघ पर्वतले कुश्मामा शोकसभा आयोजना गरेको छ । शोकसभालाई सम्बोधन गर्दै नेपाली काँग्रेसका पूर्व केन्द्रीय सदस्य तथा संविधानसभा सदस्य अर्जुनप्रसाद जोशीले मिना पाण्डेले नेपालको लोकतान्त्रिक आन्दोलन र काँग्रेसको संगठन सुदृढिकरण अभियानमा अतुलनीय योगदान गरेको स्मरण गर्नुभएको थियो । नेता जोशीले स्वर्गीय पाण्डेले आत्मसात गरेको राजनीतिक आदर्श र योगदानलाई अनुशरण गर्नुपर्ने वताउनु भयो । केन्द्रीय सदस्य जोशीले पार्टीलाई अफ्ठ्यारो परेको बेला सहयोग गर्ने कार्यकर्ताको पार्टीले उचित मूल्यांकन गर्ने वताउनुभयो ।
कार्यक्रममा नेपाली काँग्रेसका पार्टी सचिव गुप्तनिधि शर्मा, नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि मिना कर्माचार्य, जिल्ला कार्य समिति सदस्य ओमप्रसाद शर्मा घायल, प्रदेशका कोषाध्यक्ष चित्रकला शर्मा, नेपाली काँग्रेस कुश्मा नगरपालिकाका सभापति किशोर भण्डारी, नेपाल महिला संघ फलेवासका सभापति गौरी सापकोटा, जलजलाका उपसभापति सावित्राखत्री, कुश्माका उपसभापति हिरादेवी थापा लगायतले बोल्नुभएको थियो ।
नेपाल महिला संघ पर्वतका अध्यक्ष मुना शर्मा लामिछानेको सभापतित्वमा भएको उक्त कार्यक्रमको संचालन सचिव सुशीला शर्माले गर्नुभएको थियो । २००९ सालमा रामेछापमा जन्मेर नेपाल महिला संघको केन्द्रीय अध्यक्ष हुँदै नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पटक पटक सांसद र एकपटक राज्यमन्त्रीको समेत जिम्मेवारीमा पुग्न सफल पाण्डेको ७२ बर्षको उमेरमा यही जेठ १६ गते निधन भएको थियो ।







